गम्भीर प्राविधिक समस्या देखिएपछि हुन्डाई ब्रान्डका ८४ हजार सवारी फिर्ता

काठमाडौँ । नेपाली अटो बजारमा समेत गुणस्तरलाई लिएर निरन्तर प्रश्न उठ्दै आएको हुन्डाई ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा पनि गम्भीर विवादमा तानिन थालेको छ । कोरियन कार निर्माता कम्पनी हुन्डाई पछिल्ला वर्षहरूमा एकपछि अर्को प्राविधिक समस्या, आगलागीका घटना र सुरक्षा प्रणालीमा देखिएको कमजोरीका कारण ठूलो संकटको सामना गरिरहेको देखिएको हो ।
सडकमा गुडिरहेको अवस्थामा नै गाडीमा आगलागी हुनु, ब्रेकिङ सिस्टमले अपेक्षित रूपमा काम नगर्नु, विद्युत प्रणालीमा समस्या देखिनु तथा सफ्टवेयर त्रुटिका कारण आधारभूत प्रणाली नै अवरुद्ध हुनुजस्ता घटनाले हुन्डाईको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ । नेपालमा पनि हुन्डाई ब्रान्ड लामो समयदेखि गुणस्तरकै विषयमा आलोचित हुँदै आएको छ । आकर्षक डिजाइन, अत्याधुनिक फिचर र आक्रामक मार्केटिङमार्फत बजार विस्तार गरिरहेको हुन्डाईका गाडीहरू प्रयोगमा आएपछि विभिन्न समस्या देखिएको भन्दै उपभोक्ताबाट गुनासो आउने गरेका छन् । यही पृष्ठभूमिमा अन्तर्राष्ट्रिय बजारमा समेत हुन्डाईले आफ्ना लाखौँ सवारी साधन फिर्ता बोलाउन थालेपछि कम्पनीको विश्वसनीयतामाथि थप दबाब सिर्जना भएको छ । कम्पनीले आफैं गल्ती स्वीकार गर्दै विद्युत प्रणाली बिग्रनु, ब्रेक फेल हुनु, सफ्टवेयरमा गडबडी आउनु, क्यामेराले काम नगर्नु, ढोका बन्द नहुनेजस्ता कारण देखाउँदै बारम्बार रिकल प्रक्रिया अघि बढाइरहेको छ । यी घटनाले उपभोक्तामाझ हुन्डाईप्रतिको विश्वास क्रमशः कमजोर बन्दै गएको छ ।
हेर्दा आकर्षक र सुविधासम्पन्न देखिने हुन्डाईका गाडीहरू गुणस्तरका दृष्टिले भने गम्भीर समस्यामा परेको आरोप बलियो हुँदै गएको छ । विशेषगरी पछिल्लो समय विद्युतीय तथा प्रविधिमा आधारित गाडी उत्पादनमा आक्रामक रूपमा अघि बढिरहेको हुन्डाई समूहका लागि यस्तो अवस्था चुनौतीपूर्ण मानिएको छ । यस्तै क्रममा हुन्डाईको लक्जरी ब्रान्ड जेनेसिसका केही नयाँ मोडलमा देखिएको गम्भीर प्राविधिक समस्याका कारण फेरी ठूलो संख्यामा सवारी साधन फिर्ता बोलाइएको छ ।
समाचार एजेन्सि रोयटरका अनुसार जेनेसिस ब्रान्डका ८४ हजारभन्दा बढी सवारी साधनमा गाडी चलाइरहँदा इन्फोटेनमेन्ट तथा इन्स्ट्रुमेन्ट प्यानलका स्क्रिन आफैं बन्द हुने वा रिस्टार्ट हुने समस्या देखिएको भन्दै रिकल गरिएको हो । रिकलमा परेका सवारी साधनहरूमा जेनेसिस जी८०, विद्युतीय जी८०, जीभी६०, जीभी७०, विद्युतीय जीभी७० तथा जीभी८० मोडल समावेश छन् । यी सबै सवारी साधन सन् २०२५ र २०२६ मोडल वर्षका हुन् । उत्पादनको हिसाबले नयाँ र प्रविधिक रूपमा अत्याधुनिक मानिने यी गाडीहरूमा आधारभूत तथा अत्यन्त संवेदनशील प्रणालीमै समस्या देखिनुले उपभोक्तामाझ असन्तुष्टि चुलिएको छ ।
सवारी साधन चलाइरहँदा स्पिडोमिटर, इन्धन मापन सूचक, इन्जिनको तापक्रम देखाउने सूचकजस्ता अत्यावश्यक जानकारी प्रदान गर्ने स्क्रिन नै अचानक बन्द हुनु वा रिबुट हुनु यात्रुको सुरक्षाका लागि गम्भीर जोखिमका रूपमा हेरिएको छ । कागजातअनुसार समस्या हार्डवेयरमा नभई सफ्टवेयरको तर्क प्रणालीसँग सम्बन्धित रहेको बताइएको छ । विशेषगरी एचडी रेडियो मेमोरी भण्डारण प्रणालीमा देखिएको तर्कगत त्रुटिका कारण इन्स्ट्रुमेन्ट प्यानल र इन्फोटेनमेन्ट स्क्रिनहरू समय–समयमा आफैं रिबुट हुने अवस्था सिर्जना भएको हो । आधुनिक गाडीहरूमा अधिकांश प्रणाली सफ्टवेयरमै निर्भर हुने भएकाले यस्ता त्रुटिले सम्पूर्ण गाडीको कार्यसम्पादन र सुरक्षामाथि नै प्रश्न उठेको हो ।
गुणस्तर र सुरक्षालाई प्राथमिकता दिनुपर्ने सवारी साधन क्षेत्रमा पटक–पटक देखिने यस्ता समस्या हुन्डाईका लागि चेतावनीका रूपमा लिइएको छ । अब कम्पनीले आकर्षक डिजाइन र प्रविधिभन्दा पनि वास्तविक गुणस्तर र विश्वसनीयतामा कति ध्यान दिन्छ भन्ने विषयले आगामी दिनमा हुन्डाई ब्रान्डको भविष्य निर्धारण गर्ने देखिन्छ ।
सम्बन्धीत समाचारः
थानकोटमा पार्किङ मै जलेर खरानी बन्यो ‘हुन्डाई क्रेटा’, गुणस्तरमा गम्भीर प्रश्न
गुणस्तरीय गाडीको नाममा धोका: बिच सडकमै जल्छन् हुन्डाई ब्रान्ड, ढाकछोपमा ब्यस्त बिक्रेता कम्पनी












