बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै धर्मराज तिमिल्सिनाले आयोगमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पब्लिक डिबेटको सन्दर्भलाई लिएर शाहले सामाजिक सञ्जालमार्फत दिएको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको दाबी गरिएको छ । शाहले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको फैसलाबिनै लगाइएका गम्भीर, आपराधिक तथा तथ्यहीन आरोप भएको निवेदनमा उल्लेख छ ।
यसैगरी, महोत्तरीलगायतका जिल्लामा रास्वपाले चुनावी प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै उक्त कार्यसमेत निर्वाचन आचारसंहिताविपरीत रहेको दाबी गरिएको छ ।
उजुरीमा ती सबै घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।












