प्रतिबन्धित बैंकास्योरेन्स कारोबार गर्दै नेपाल माइक्रो र एक्सेल डेभलपमेन्ट बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणले नगर्नु भनेर प्रतिबन्ध लगाएको बैंकास्योरेन्स कारोबार खुलेआम भइरहेको पाइएको छ ।
पूर्वको कोशी प्रदेशभित्र वित्तीय कारोबार गर्न अनुमति प्राप्त गरेको एन्सेल डेभलपमेन्ट बैंक र चितवनको भरपुरमा केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका बीचमा बैंकास्योरेन्स कारोबार गर्ने सम्झौता भई कारोबार हुँदै आएको पाइएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्ससँग केही महिना अघि भएको सम्झौता बमोजिम एक्सेल डेभलपमेन्ट बैैंकले आफ्ना सबै ४७ वटै शाखाहरुलाई बैंकास्योरेन्स प्रस्ताव स्वीकार गरी कारोबार गर्न लिखित निर्देशन नै दिएको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त सूचनामा एक्सेल डेभलपमेन्ट बैंकका व्यापार शाखा प्रमुख शिव कुमार गिरीले इमेल मार्फत सबै शाखाहरुलाई एकै पटक निर्देशन दिँदै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीसँग एक पटकमा ५० लाख रुपैयाँसम्मको बीमा पोलिसी बैंकास्योरेन्स अन्तर्गत स्वीकार गर्न भनिएको छ ।

नेपालमा बैंकास्योरेन्स अर्थात बैंकले बीमाको कारोबार गर्ने कार्य प्रतिबन्धित छ । केही बर्ष पहिले खुल्ला गरिएको बैंकास्योरेन्सले चरम विकृति भित्राएपछि अहिले रोकिएको अवस्था छ । तर, एक्सेल डेभलपमेन्ट बैंकले खुलेआम बैंकास्योरेन्स गर्नु भन्दै मातहतका निकायलाई पत्राचार गरेको तथ्यसँगै पुनः ब्यूतिएको पुष्टि हुन आएको छ ।
सो सम्बन्धमा जिज्ञाशा राख्दा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सूचना अधिकारी सुसन थापाले एक्सेल डेभलपमेन्ट बैंकसँग बैंकास्योरेन्स प्रस्ताव आएको स्वीकार गर्दै लिखित सम्झौता नगरिएको बताए । उनले भने, ‘एक्सेल डेभलपमेन्ट बैंकबाट प्रस्ताव आएको थियो, पछि उहाँहरुले नै सम्झौता गर्नबाट पछि हट्न भएको हो । अनौपचारिक रुपमा सर्कुलर नै जारी गरेर व्यवसाय गरौं भन्ने प्रस्ताव आएको पछि के भयो थाहा भएन ।’
उता, एक्सेल डेभलपमेन्ट बैंकका सूचना अधिकारी श्याम बहादुर बोहराले बैंकास्योरेन्स सम्झौता गरिएकोबारे थाहा नभएको बताए । साथै उनले बैंकास्योरेन्स सम्झौता बमोजिम स्वीकार गर्न सबै शाखाहरुलाई इमेल लेख्ने शिव कुमार गिरी आधिकारिक व्यक्ति भएको स्वीकार गरेका छन् ।नियामक नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी पूर्ण थापाले बैंकास्योरेन्स प्रतिबन्धित अवस्थामा रहेकोले कसैले त्यस्तो कारोबार गरेको पाइएमा कारवाही हुने बताए । ‘अहिले नै भन्न सकिदैन, यदि कसैले त्यस्तो कारोबार गरेको गरेको छानविनबाट देखिए कारवाही हुन्छ ।’












