निर्वाचनमा २ लाख १३ हजार कर्मचारी परिचालन गरिने, भत्तादेखि २० लाखको बीमा सुविधा

१३ माघ २०८२, मंगलवार ०९:४६

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले देशभर करीब २ लाख १३ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ। आयोगले मतदान केन्द्रदेखि केन्द्रीय कार्यालयसम्म आवश्यक जनशक्ति व्यवस्थापनको काम अघि बढाइसकेको जनाएको छ।

देशभरका १६५ निर्वाचन क्षेत्र र २३ हजार ११२ मतदान केन्द्रमा निर्वाचन सञ्चालन गर्न कर्मचारी खटाइनेछ। यसका लागि केन्द्रीय कार्यालयसहित ७७ मुख्य निर्वाचन अधिकृत कार्यालय, ८८ निर्वाचन अधिकृत कार्यालय, ७० जिल्ला निर्वाचन कार्यालय र ७ प्रदेश निर्वाचन कार्यालयमा जनशक्ति व्यवस्थापन गरिनेछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला न्यायाधीशले गर्ने व्यवस्था छ भने निर्वाचन अधिकृत कार्यालयमा न्याय सेवाका उपसचिवसरहका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतसरह र प्रदेश निर्वाचन कार्यालयमा उपसचिवसरहका कर्मचारीले नेतृत्व गर्नेछन्।

मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या तोकिएको आयोगले जनाएको छ। ५०० सम्म मतदाता भएको मतदान केन्द्रमा ८ जना र ५०० भन्दा बढी मतदाता भएको केन्द्रमा ९ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। अस्थायी मतदान केन्द्रमा भने ५ जना कर्मचारी खटाइनेछन्। नियमित दरबन्दीबाट कर्मचारी नपुगेमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारी प्रयोग गरिनेछ भने आवश्यक परे शिक्षकसमेत निर्वाचन कार्यमा खटाइने आयोगले जनाएको छ। मतदान केन्द्रका कर्मचारी भने निर्वाचन नजिकिंदै जाँदा फागुन महीनामा परिचालन गरिनेछन्।

निर्वाचनमा खटिने कर्मचारीका लागि भत्ता, अतिरिक्त कामको सुविधा र बीमाको व्यवस्था गरिएको छ। मतदान अधिकृतलाई दैनिक २ हजार ५०० रुपैयाँ, सहायक मतदान अधिकृतलाई २ हजार रुपैयाँ, सहायक कर्मचारीलाई १ हजार ६०० रुपैयाँ तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही १ हजार २०० रुपैयाँ भत्ता उपलब्ध गराइनेछ। यसका साथै निर्वाचनमा खटिने सबै कर्मचारीलाई जनही २० लाख रुपैयाँ बराबरको बीमा सुविधा समेत रहेको छ।

निर्वाचन व्यवस्थापनका चालू खर्चअन्तर्गत विभिन्न ४८ वटा शीर्षकमा कुल ६ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको निर्वाचन आयोगले जनाएको छ। यी सबै व्यवस्था प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार गरिएको आयोगले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*