नेपाल टेलिकमभित्र बिलिङ सिस्टममा घोटाला

काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमभित्र भ्रष्टाचार, अनियमितता र विवादास्पद ठेक्का प्रक्रियामा भएका घोटालाहरू बाहिरिएका छन्। हालै टेलिकमको बिलिङ प्रणाली खरीद सम्बन्धी ठेक्का रद्द भएपछि यो विषयले थप चर्चा पाएको छ।
नेपाल टेलिकमको नेटवर्क र प्रविधिमा लामो समयदेखि चिनियाँ कम्पनी हुवावे हावी हुँदै आएको छ। टेलिकमका मुख्य दुई प्रविधिगत संरचना कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्कमा हुवावेको प्रविधि प्रमुख रूपमा प्रयोग हुँदै आएको छ। बिलिङ प्रणालीमा भने अर्को कम्पनी एसिया इन्फो कार्यरत छ। तर नयाँ बिलिङ प्रणाली खरिद प्रक्रियामार्फत हुवावेलाई नै प्रवेश गराउने सेटिङ गरिएको भन्दै विवाद उत्पन्न भएको हो।
हुवावेलाई अमेरिका लगायत पश्चिमा मुलुकहरूले प्रतिबन्ध लगाइसकेका छन्। चौतर्फी प्रतिबन्ध भोगिरहेको हुवावेलाई सेटिङमा नेपाल टेलिकममा आधिपत्य जमाउन दिन लागेको भन्दै बिलिङ प्रक्रिया विवादमा परेको हो। बिलिङ प्रणालीसमेत एउटै कम्पनीको नियन्त्रणमा जानु टेलिकमका लागि अत्यन्त जोखिमपूर्ण हुने मानिन्छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पूर्वसचिव मणिराम गेलालको नेतृत्वमा गठन गरेको अध्ययन समितिले ठेक्का प्रक्रियामा कानूनको पालना नभएको, ३ अर्ब ९८ करोडको लागत बढाएर ४ अर्ब ३३ करोड रुपैयाँ पुर्याइएको, प्रतिस्पर्धा सीमित हुने गरी र हुवावेलाई फाइदा पुग्ने गरी मापदण्ड बनाइएको र स्वार्थको द्वन्द्व देखिएको निष्कर्ष निकालेको थियो। समितिको प्रतिवेदनमा टेलिकमलाई घाटा पर्ने गरी निर्णय गरिएको उल्लेख भएपछि करीब सवा ४ अर्ब रुपैयाँको बिलिङ प्रणाली ठेक्का रद्द गर्ने निर्णय गरिएको हो।
यस ठेक्का प्रक्रियामा तत्कालीन सचिव राधिका अर्यालको भूमिकामाथि पनि प्रश्न उठेको भए तापनि हुवावेले टेलिकममा आफ्नो पहुँच अर्याल आउनुअघि नै विस्तार गरिसकेको थियो। विगतमा प्रधानमन्त्री कार्यालयका परियोजनासम्म हुवावेलाई जिम्मा दिइएका छन्। यता टेलिकमको बिलिङ सम्बन्धी विषयले अख्तियारदेखि अदालतमा समेत प्रवेश पाइसकेको छ। उच्च अदालत पाटनले बिलिङ ठेक्कासम्बन्धी अध्ययन समितिको सक्कल प्रतिवेदन माग गरेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परिसकेको छ।












