मितेरी डेभलपमेन्ट बैंकको नाफा १२० प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको दोस्रो त्रैमासमा खुद नाफा १२०.२६ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।
बैंकले गत आर्थिक वर्षको ६ महीना अर्थात् पुस मसान्तसम्म २ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर ५ करोड ७० लाख रुपैयाँ नाघेको हो। खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४.२५ रुपैयाँबाट बढेर ९.३७ रुपैयाँ पुगेको छ।
गत आवको पुस मसान्तसम्म बैंकले ८ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म ६८.४३ प्रतिशतको वृद्धि सहित १४ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। त्यस्तै समीक्षा अवधिमा बैंकको खराब कर्जा १.७४ प्रतिशतबाट घटेर ०.४५ प्रतिशतमा झरेको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९ करोड ६७ लाख रुपैयाँबाट बढेर १७ करोड १ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३ करोड ६९ लाख रुपैयाँबाट बढेर ८ करोड १४ लाख रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ।
चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहको यस बैंकको जगेडा कोषमा ६ करोड ७९ लाख रुपैयाँ र रिजर्भ कोषमा ३७ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकले ६ अर्ब ५६ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरी करीब ८ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३५.९८ रुपैयाँ रहको छ।












