बजार विस्तारमा आक्रामक इन्टरनेट कम्पनी, गुणस्तर सुधारमा भने उदासीन

काठमाडौं । नेपाली बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संख्या तीव्र रूपमा बढ्दै गए पनि सेवाको गुणस्तर भने उपभोक्ताको अपेक्षाअनुसार सुधार हुन सकेको छैन । करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनीहरू बजारमा सक्रिय हुँदा प्रतिस्पर्धा तीव्र बनेको छ । तर यो प्रतिस्पर्धा सेवा सुधारभन्दा पनि ग्राहक संख्या बढाउने होडमा केन्द्रित देखिएको छ । आकर्षक अफर, सस्तो प्याकेज, बोनस स्पिड र विभिन्न छुटका योजनामार्फत ग्राहक तान्ने प्रयास बढे पनि दिगो र भरपर्दो सेवाप्रति भने कम्पनीहरूको ध्यान कमजोर देखिएको उपभोक्ताको गुनासो छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार बजार हिस्साका आधारमा सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक रहेको छ । मंसिरसम्मको तथ्यांकमा वर्ल्डलिंकका ग्राहक संख्या १० लाख ५५ हजार पुगेको छ । दोस्रो स्थानमा डिसहोम रहेको छ, जसका ग्राहक संख्या ३ लाख ८२ हजार पुगेको छ । तेस्रो स्थानमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ, जसका ग्राहक ३ लाख ७४ हजार पुगेका छन् । चौथो स्थानमा भायनेट, पाँचौँमा क्लासिक टेक, छैटौँमा सुबिसु इन्टरनेट, सातौँमा वेभसर्फर, आठौँमा टेकमाइन्स, नवौँमा वाइफाइ नेपाल र दशौँमा सिजी कम्युनिकेसन रहेका छन् ।

यसरी हेर्दा केही ठूला कम्पनीहरूले बजारमा बलियो पकड जमाएका छन् भने नयाँ र साना कम्पनीहरू पनि आक्रामक रूपमा बजार विस्तारमा जुटिरहेका छन् । सहरी क्षेत्रमा इन्टरनेट पहुँच लगभग सबै ठाउँमा पुगेको दाबी गरिँदै आए पनि सेवाको स्थायित्व, स्पिड, ग्राहक सेवा र समस्या समाधानको प्रभावकारितामा भने गम्भीर प्रश्न उठिरहेको छ । उपभोक्ताहरूले इन्टरनेट जडान भए पनि बारम्बार नेटवर्क डाउन हुने, स्पिड घट्ने, केबल कटिएको बहानामा सेवा अवरुद्ध हुने र गुनासो गर्दा समयमै समाधान नपाइने गुनासो गर्दै आएका छन् ।
विशेषगरी वर्षायाममा इन्टरनेट सेवा बारम्बार अवरुद्ध हुने समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन । धेरै कम्पनीहरूले फाइबर नेटवर्क विस्तार गरेको दाबी गरे पनि तार व्यवस्थापन कमजोर हुँदा सामान्य वर्षा वा हावाहुरीले पनि सेवा प्रभावित हुने गरेको उपभोक्ताको अनुभव छ । कार्यालयबाट काम गर्ने, अनलाइन कक्षा लिने, डिजिटल कारोबार गर्ने तथा अनलाइन सेवामा निर्भर नागरिकका लागि यस्तो अवरोध ठूलो समस्या बन्दै गएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरू भने बजार विस्तारलाई नै प्राथमिकतामा राखिरहेका देखिन्छन् । नयाँ ग्राहक थप्नका लागि आक्रामक विज्ञापन, एजेन्टमार्फत घर–घरमा पुग्ने रणनीति र न्यून शुल्कका प्याकेज सार्वजनिक भइरहेका छन् । तर एकपटक जडान भएपछि सेवामा समस्या आएमा उपभोक्ताले लामो समय कुर्नु पर्ने अवस्था छ । धेरै कम्पनीहरूको ग्राहक सेवा केन्द्रमा फोन नउठ्ने, उठे पनि प्राविधिक टोली समयमै नआउने गुनासो व्यापक छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले समय–समयमा सेवा गुणस्तर सुधार गर्न निर्देशन दिँदै आएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको आरोप लाग्दै आएको छ । उपभोक्ताले गुनासो दर्ता गरे पनि ठोस कारबाही नहुने, कम्पनीहरूलाई दण्ड–जरिवाना नगर्ने वा गरे पनि न्यून हुने गरेको भन्दै नियामकको भूमिकामाथि पनि प्रश्न उठिरहेको छ ।












