एमालेले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टीलाई सघाउने सहमति भंग

काठमाडौं । नेकपा एमालेले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) को उमेदवारलाई सघाउने सहमति भंग गरेको छ। यसअघि एमालेले पश्चिम रुकुमबाट प्रलोपको तर्फबाट उम्मेदवारी दर्ता गराएका जनार्दन शर्मा र रुकुमपूर्वबाट उम्मेदवारी दिएको सन्दीप पुनलाई सघाउने सहमति गरेको थियो।
तर माघ ११ गते आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी सरगर्मी र रुकुमपूर्वको चुनावी अवस्थाबारे वस्तुनिष्ठ छलफलपछि एमालेले सहमति खारेज गरेको हो। रुकुमपूर्वबाट एमालेका तर्फबाट लीलामणि पौडेल चुनावी प्रतिस्पर्धामा छन्।
एमालेका केन्द्रीय सदस्य तथा रुकुमपूर्व क्षेत्र नम्बर १ को उम्मेदवार लीलामणि पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “पार्टी अध्यक्ष कमरेडसँग चुनावी सरगर्मी र रुकुमपूर्वको चुनावी अवस्थाबारे वस्तुनिष्ठ छलफल भएको छ। रुकुमपूर्वमा प्रत्यक्ष र समानुपातिक दुवैमा सूर्यमा भोट हाल्न आममतदातालाई आह्वान गर्दै अध्यक्ष ज्यूको स्पष्ट निर्देशन– जिल्ला जाने, पार्टी परिचालन गर्ने, साथीभाइ परिचालन गर्ने र चुनाव जितेर आउने मेरो शुभकामना।”
यसअघि नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोबीबीच माघ ११ गते सहमति भएको थियो।












