अटो बजारमा जम्दै किया र इसुजु ब्रान्डका गाडी, कन्टिनेन्टल ट्रेडिङले वर्षदिनमा साढे ४ अर्बको व्यापार

१४ माघ २०८२, बुधबार १२:०८

काठमाडौँ । नेपाली अटो बजारमा किया र इसुजु ब्रान्डका सवारी साधन बिक्री गर्ने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको व्यापार पुनः सुधारको बाटोमा फर्किएको छ। उपभोक्ताको रोजाइमा किया र इसुजु ब्रान्ड क्रमशः लोकप्रिय बन्दै गएसँगै कम्पनीको व्यापारमा सुधार देखिन थालेको हो ।

कम्पनीले सन् २०२५ मा ४ अर्ब ४० करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। यो अघिल्लो सन् २०२४ को तुलनामा २१.१२ प्रतिशतले बढी हो। सन् २०२४ मा कम्पनीको कारोबार ३ अर्ब ६४ करोड रुपैयाँमा सीमित रहेको थियो। यसअघि सन् २०२३ मा ४ अर्ब ५१ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा १० अर्ब २ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो। लगातार दुई वर्षसम्म घट्दो क्रममा रहेको व्यापार पछिल्लो समय पुनः लयमा फर्किन थालेको देखिन्छ।

कम्पनीको आम्दानी वृद्धिको मुख्य आधार कोमात्सु ब्रान्डका भारी मेसिनरी उपकरण, किया सोनेट मोडलका यात्रुवाहक सवारी तथा इसुजु हाई–ल्यान्डर व्यावसायिक सवारी साधनको माग बढ्नु हो। यी प्रमुख उत्पादनहरूको बिक्रीमा आएको वृद्धिले कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार ल्याएको छ। सन् २०२४ मा करिब ६ प्रतिशतमा सीमित रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा करिब ७ प्रतिशत पुगेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामै कम्पनीले करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ। यसले वर्षको बाँकी अवधिमा पनि कारोबारको सकारात्मक गति कायम रहने अपेक्षा गर्न सकिने अवस्था सिर्जना गरेको छ। आर्थिक वर्ष २०८१/८२ को कुल आम्दानीमध्ये करिब ५६ प्रतिशत हिस्सा किया सेल्टोस र किया सोनेट मोडलको बिक्रीबाट आएको छ। यी मोडलहरू नेपाली बजारमा लोकप्रिय छन् ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि सन् १९९५ मा स्थापना भएको हो। कम्पनी नेपालका लागि किया र इसुजु ब्रान्डका सवारी साधनको आधिकारिक विक्रेता हो। यसका साथै कम्पनीले कोमात्सु र ओकाडा ब्रान्डका निर्माण सामग्री तथा उपकरण पनि बिक्री वितरण गर्दै आएको छ। काठमाडौँको मैतिदेवीमा केन्द्रीय कार्यालय रहेको कम्पनीका देशभर छ वटा आफ्नै शोरुम सञ्चालनमा छन् भने १२ वटा क्षेत्रीय डिलर सञ्जालमार्फत बिक्री विस्तार गरिएको छ। लामो समयदेखि अटोमोबाइल तथा निर्माण उपकरण क्षेत्रमा सक्रिय रहँदै आएको अनुभवले कम्पनीलाई बजारमा स्थापित ब्रान्डको रूपमा उभ्याएको छ।

यद्यपि कम्पनीको ऋण भार भने केही बढ्दो क्रममा देखिन्छ। शुद्ध सम्पत्तिको तुलनामा कुल ऋणको अनुपात सन् २०२१ मा करिब ३ गुणा रहेकोमा सन् २०२५ मा करिब साढे ६ गुणा पुगेको छ। त्यसैगरी बाह्य दायित्वको अनुपात पनि क्रमशः बढ्दै गएको देखिन्छ। कार्यशील पूँजीको भार सन् २०२१ मा करिब ३४ प्रतिशत रहेकोमा सन् २०२४ मा १२४ प्रतिशतसम्म पुगेको थियो, जुन सन् २०२५ मा घटेर करिब ९९ प्रतिशतमा आएको छ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ४ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ। यसमध्ये १ अर्ब रुपैयाँ दीर्घकालीन कर्जाका लागि र ३ अर्ब ७५ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि रहेको छ। ऋण व्यवस्थापनमा चुनौती रहे पनि पछिल्लो समय आम्दानी र नाफामा देखिएको सुधारले भविष्यमा वित्तीय सन्तुलन थप मजबुत हुने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*