नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकबीच तुलनात्मक अध्ययन, को कति बलियो ? (तथ्याङ्कसहित)

काठमाडौं । नेपालमा सञ्चालित आधा दर्जन वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरीसकेका छन् । सार्वजनिक गरेका बैंकहरुको वित्तीय सूचांकहरुमा सामान्य प्रगति देखिएको हो ।
समीक्षा अवधिसम्ममा वित्तीय विवरण सार्वजनिक गरेको वाणिज्य बैंकहरुमध्ये प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच वित्तीय सूचांकले कडा प्रतिस्पर्धा देखिएको छ । दुबै बैंकहरुले एक अर्ब रुपैयाँबढी मुनाफा आर्जन गरेका छन् ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ र प्रभु बैंकको २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँसम्म चुक्ता पुँजी रहेको छ । यस अवधिमा बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । जसका कारण दुबै बैंकहरुको लाभांश क्षमता एकदमै न्युन रहेको छ ।
समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको जगेडा कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ र प्रभु बैंकको १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ सञ्चिती रहेको छ । बैंकिङ्ग क्षेत्रमा मूख्य आयस्रोतको रुपमा ब्याज आम्दानी रहेको हुन्छ । यस अवधिमा इन्भेष्टमेन्ट मेगा बैंकको ६ अर्ब ४२ करोड तीन लाख रुपैयाँ र प्रभु बैंकको चार अर्ब ९८ करोड ४० लाख रुपैयाँ ब्याज आम्दानी रहेको छ ।
इन्भेष्टमेन्ट मेगा बैंक कुल सञ्चालन मुनाफामा पनि अघि रहेको छ । बैंकको कुल सञ्चालन मुनाफा ८ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ रहेको छ भने, प्रभु बैंकमो यस्तो मुनाफा ६ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ रहेको छ । यस अवधिमा दुबैं बैंकहरुको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । जसमा इन्भेष्टमेन्ट मेगा बैंकको तीन अर्ब ६२ करोड रुपैयाँ र प्रभु बैंकको तीन अर्ब ३५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा आधारित
त्यस्तै, समीक्षा अवधिमा खुद मुनाफा आर्जनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक निकै अघि रहेको छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब ६१ करोड ३० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । साथै, प्रभु बैंकले एक अर्ब एक करोड ४४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
शेयर बजार तथा समग्र कम्पनीको वित्तीय अवस्थाको मुल्यांकलन गर्दा प्रति शेयर आम्दानी निकै काम लाग्ने वित्तीय सूचांकमध्येको एक हो । प्रतिशेयर आम्दानीमा पनि इन्भेष्टमेन्ट मेगा बैंक अघि रहेको छ । बैंकको ईपीएस नौ रुपैयाँ ४५ पैसा रहेको छ भने, प्रभु बैंकको ८ रुपैयाँ ६२ पैसा रहेको छ ।
प्रभु बैंकको खराव कर्जा पनि बढी रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ७.९४ प्रतिशतसम्म रहेको छ भने इन्भेष्टमेन्ट मेगा बैंकको ७.९० प्रतिशतसम्म रहेको छ । इन्भेष्टमेन्ट मेगा बैंकले प्रभु बैंकको तुलनामा आधारदर पनि कम रहेको छ । समग्रमा दुबै बैंक बलिया र मजबुद रहेका छन् ।












