पुँजी बजारमा झिनो सुधारः साढे ११ अर्बको कारोबार, के होला आगामी यात्रा ?

१४ माघ २०८२, बुधबार १५:०६

काठमाडौँ। मंगलबार भारी गिरावट आएको शेयर बजार आज सामान्य सुधार देखाएको छ। शेयर बजारमा आज केही अंकले वृद्धि भए पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा नै रहेको देखिन्छ ।

मंगलबार बजारमा नाफा बुक गर्ने प्रवृत्ति हाबी भएको थियो। लगानीकर्ताले आफ्नो नाफा सुरक्षित गर्ने मनोवृत्ति देखाएपछि बजारमा भारी गिरावट आएको थियो। त्यसैले मंगलबारको बजार परिस्थिति अपेक्षाकृत नकारात्मक देखिएको थियो।

देशमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधिसँगै पूँजी बजारमा पनि नयाँ उत्साह देखिएको थियो। तर बजार सुधार देखिनासाथ लगानीकर्तामा नाफा बुक गर्ने प्रवृत्ति बढ्दा बजारमा निरन्तर उतार–चढाव देखिएको छ। यसले दीर्घकालीन रूपमा बजार स्थिर हुनेमा लगानीकर्ताको पूर्ण विश्वास नभएको संकेत गर्छ।

यद्यपि हाल शेयर बजारका लागि आवश्यक नीतिगत वातावरण सकारात्मक देखिन्छ। राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थमन्त्रालयले पूँजी बजारप्रति उदार नीति अपनाएका छन्। साथै, बैंक तथा वित्तीय संस्थाको घट्दो ब्याजदरले लगानीकर्तामा उत्साह थप गरेको छ। यी आधारभूत पक्षले दीर्घकालीन रूपमा बजार सुधारतर्फ जाने अपेक्षा राख्न सकिन्छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३८ अकंले बढेर २७३१.८९ बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ८ उपसूचकमा हरियाली आएको छ भने ५ उपसूचक राताम्य भएको छ । आज १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*