युवा नेतृत्व र प्रविधिमैत्री सहकारी अभियानको नयाँ दिशा, ६ बुँदे संकल्प जारी

१४ माघ २०८२, बुधबार १५:२६

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा ललितपुरमा सम्पन्न ‘दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२’ले सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने ६ बुँदे संकल्प जारी गर्दै सफलता हासिल गरेको छ।

सम्मेलनमा देशभरका युवा सहकारीकर्मी, प्रविधि विज्ञ, नीति निर्माता, सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहकारी क्षेत्रमा युवाको नेतृत्व र प्रविधिको महत्वमाथि विस्तृत छलफल भएको सम्मेलनमा राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले भने, ‘सहकारी क्षेत्रको रूपान्तरणका लागि युवा नेतृत्व र प्रविधिको समन्वय अब विकल्प होइन, आवश्यकता हो।’

सम्मेलनले जारी गरेको ६ बुँदे संकल्पअनुसार सहकारी संघ संस्थाहरूको नीति निर्माण र निर्णय प्रक्रियामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न संस्थागत सुधार र प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ। यसका साथै डिजिटल भुक्तानी प्रणाली, डेटा व्यवस्थापन, फिनटेक, एग्रिटेक लगायत आधुनिक प्रविधिको प्रयोग गरेर सहकारीलाई पारदर्शी, दिगो र सदस्यमैत्री बनाउने योजना बनाइएको छ।

युवामैत्री नीति, प्रविधि प्रयोगमैत्री कानुन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सरकार, नियामक निकाय र सहकारी अभियानबीच प्रभावकारी समन्वय आवश्यक रहेको सम्मेलनले निष्कर्ष निकालेको छ। नियमन प्रक्रियालाई सरल र प्रविधिमैत्री बनाउने प्रतिबद्धतासमेत संकल्पमा समावेश गरिएको छ।

युवालाई प्रविधि र उद्यमशीलतामा दक्ष बनाउन, सम्मेलनले सरकारी, निजी र गैरसरकारी संस्थासँग सहकार्यमा देशव्यापी तालिम, मेन्टरशिप, अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने लक्ष्य पनि लिएको छ। यस अन्तर्गत केन्द्रीय तहमा अन्तर्राष्ट्रियस्तरको तथा प्रदेश तहमा राष्ट्रियस्तरको प्रविधियुक्त तालिम केन्द्र स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय भएको छ।

सहकारीमार्फत युवा स्वरोजगार सिर्जना गर्न र स्टार्टअप व्यवसायतर्फ युवाको आकर्षण बढाउन वित्तीय लगानी, प्राविधिक शिक्षा र व्यावसायिक समर्थन प्रणाली तयार गर्ने प्रतिवद्धता पनि सम्मेलनले व्यक्त गरेको छ। साथै, उदाहरणीय कार्य गर्ने युवा उद्यमीलाई प्रोत्साहन गर्दै उत्पादनको बजार व्यवस्थापनका लागि सहकारी नेटवर्कमार्फत साझा ब्रान्डिङ र बजार केन्द्र निर्माण गर्ने योजना बनाइएको छ।

सम्मेलनको समापन कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष पोखरेलले सम्मेलनमा उठेका सुझावहरू सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे। यस अवसरमा महासंघका पूर्व अध्यक्षहरू केशव बडाल, दीपकप्रकाश बाँस्कोटा र निवर्तमान अध्यक्ष मिनराज कँडेलले सम्मेलन समयसापेक्ष र प्रभावकारी भएको धारणा व्यक्त गरे।

सम्मेलनका अन्तिम दिन ‘डिजिटल रूपान्तरणमा प्रविधि र युवा’ तथा ‘युवामैत्री अर्थतन्त्र निर्माणमा राष्ट्रिय दृष्टिकोण’ विषयक प्यानल छलफलहरू सम्पन्न भए। ‘डिजिटल रूपान्तरण’ प्यानलको मोडरेसन श्रद्धा शाक्यले गरेकी थिइन्, जसमा खल्तीका फाउन्डर अमित अग्रवाल, एईसीका सीईओ दिपेन्द्र जोशी, कनेक्ट किसानकी सीईओ इ. संजिता लामिछाने र चन्दागिरी साकोसका सीईओ कृष्णकुमार श्रेष्ठ प्यानलिस्ट थिए।

‘युवामैत्री अर्थतन्त्र’ प्यानलको मोडरेसन महासंघका सञ्चालक परितोष पौड्यालले गरे, जसमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल, सहकारी विभागका रजिष्ट्रार सुशील ढकाल र राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले आफ्ना विचार राखे।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*