रौतहट सीमा क्षेत्रमा दुई भारतीय नागरिक नक्कली रुपैयाँसहित पक्राउ
१४ माघ २०८२, बुधबार १५:३३

काठमाडौँ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुई भारतीय नागरिकलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको सितामढी पर्सौनी बस्ने ४२ वर्षीय राकेश कुमार साह र सितामढी सिभवर परिषद–४ बस्ने ३० वर्षीय विक्रम कुमार पासवान रहेको छ।
उनीहरूले प्रयोग गरेको विआर ३० ए एफ ५७३१ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। उनीहरूको साथबाट भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली जस्तो देखिने नोटहरू फेला परेका छन्, जसमा ५०० भारुको १ थान र २०० भारुको १० थान नोट रहेका छन्।
त्यस्तै, उनीहरूको साथबाट सक्कली भारु १७७, दुई थान एन्ड्रोइड मोबाइल र मोटरसाइकल समेत बरामद गरिएको छ।












