बझाङको विद्यालय भवनमा करोडौंको चलखेल, अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रधानाध्यापकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले विद्यालयको तीनतले १२ कोठे नमुना भवन निर्माणका क्रममा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरिएको ठहर गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार विद्यालय व्यवस्थापन समिति र निर्माण पक्षबीच मिलेमतो गरी फिल्डमा भएको कामभन्दा बढीको नापी किताब र बिल तयार पारेर भुक्तानी लिइएको पाइएको छ। नभएको कामलाई समेत भएको देखाइएको तथा सामाजिक सुरक्षा कर, बहाल करलगायत शीर्षकमा आपूर्तिकर्ताबाट कट्टा गर्नुपर्ने रकम विद्यालयको आन्तरिक कोषबाट तिरेर राज्यलाई आर्थिक नोक्सानी पुर्याइएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
मुद्दा दायर गरिएकामध्ये विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धन बहादुर विष्ट र लेखापाल हर्क बहादुर विष्टविरुद्ध २६ लाख ५४ हजार ६८३ रुपैयाँ बिगो कायम गरिएको छ।
त्यस्तै, गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र सव–इन्जिनियर किरण भण्डारीविरुद्ध २० लाख १ हजार ७७९ रुपैयाँ बिगो दाबी गर्दै कैद तथा जरिवानाको माग गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।












