राष्ट्रिय वाणिज्य बैंकको मुनाफा १३२ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ५ लाख रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ७६ करोड ३० लाख ३३ हजार रुपैयाँमा सीमित भएको थियो ।
दोस्रो त्रैमाससम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी समेत ३८.४९ प्रतिशतले बढेर ६ अर्ब १० करोड ३३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब ४० करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा १ अर्ब ८ करोड रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोहि अवधिसम्म आइपुग्दा १३२ प्रतिशतले बढेर २ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १५ अर्ब ६३ करोड, जगेडा कोषमा १ अर्ब २४ करोड सञ्चिति रहेको छ । १ अर्ब २९ करोड ६१ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा २४ करोड १८ लाख रुपैयाँ ऋणात्मकमा झरेको छ ।
बैंकको खराब कर्जामा समेत सुधार देखिएको छ । ४.९६ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर ४.३६ प्रतिशत पुगेको हो ।












