कुमारी बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उछाल, अन्य सूचक कस्तो?

१५ माघ २०८२, बिहीबार ०९:३०

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उछाल देखिएको हो।

बैंकले गत आवको पुस मसान्तसम्म २७ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस मसान्तसम्म ८८७.९४ प्रतिशतको उछाल सहित २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा देखिएको छ।

बैंकले गत आवको पुस मसान्तसम्म ५ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी बैंकको खुद फी तथा कमिशन आम्दानी १ अर्ब २७ करोड ७ लाख रुपैयाँबाट बढेर १ अर्ब ६० करोड ९२ लाख पुग्दा कुल सञ्चालन आम्दानी ७ अर्ब ८ करोड ३६ लाख रुपैयाँबाट बढेर ९ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ।

आम्दानीमा उल्लेख्य वृद्धि आएसँगै बैंकको सञ्चालन नाफामा पनि उछाल आएको छ। गत आवको पुस मसान्तसम्म ७२ करोड १५ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा चालू आवमा ५०५.१५ प्रतिशतको वृद्धि सहित ४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २.१० रुपैयाँबाट ह्वात्तै बढेर २०.७४ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ६.९६ प्रतिशतबाट सामान्य घटेर ६.९२ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५१.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८.६३ गुणा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९८ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९८ करोड रुपैयाँ ऋणात्मक छ भने रिजर्भमा १६ अर्ब ४० करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकले २ खर्ब ६५ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ खर्ब ७१ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*