स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १६.२९ प्रतिशतले घट्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडको खुद नाफा गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा १६.२९ प्रतिशतले घटेको छ। बैंकको खुद नाफा १ अर्ब ६४ करोड ६ लाख रुपैयाँबाट घटेर १ अर्ब ३७ करोड ३३ लाख रुपैयाँमा झरेको हो।
त्यसैगरी गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको पुस मसान्तसम्म बैंकको आम्दानी सहित सञ्चालन नाफा पनि घट्न पुगेको छ। बैंकको खुद ब्याज आम्दानी २ अर्ब १७ करोड २४ लाख रुपैयाँबाट घटेर १ अर्ब ९७ करोड ४२ लाख रुपैयाँमा झरेको छ।
त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब २१ करोड ८८ लाख रुपैयाँबाट घटेर ३ अर्ब १२ करोड ७० लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि २ अर्ब ३४ करोड ६९ लाख रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड ६४ लाख रुपैयाँमा सीमित बनेको छ।
त्यस्तै समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि ३२.६७ रुपैयाँबाट घटेर २७.३५ रुपैयाँमा झरेको छ भने खराब कर्जा १.७१ प्रतिशतबाट बढेर १.८८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ छ भने वितरणयोग्य मुनाफा ९१ करोड २५ लाख रुपैयाँ रहेको छ।
चुक्ता पूँजी १० अर्ब ४ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ९१ करोड रुपैयाँ र रिजर्भमा १० अर्ब २३ करोड रुपैयाँ सञ्चित छ। बैंकले ६८ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरी १ खर्ब ३७ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।












