जापानी भाषा परीक्षा विरुद्धको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारीका लागि जापान जाने प्रशिक्षार्थी कामदारका लागि लिने भाषा परीक्षा विरुद्धको रिट खारेज गरेको छ । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान) ले लिने भाषा परीक्षा विरुद्धको रिट खारेज गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ खारेज गरेको थियो ।
निर्देशिका खारेज भएसँगै ‘जापान इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन’ (जिट्को) मार्फत नेपाली श्रमिक पठाउन समेत खारेज भएको थियो । जिट्कोका लागि जानले लिने भाषा परीक्षा समेत बन्द भएको थियो । सरकारको उक्त निर्णय विरुद्ध अधिवक्ता हसिना प्रधान समेतले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले रिट खारेज गरेको हो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान) समेतलाई विपक्षी बनाइएको थियो । जापानले सन् २०१७ मै जिट्को खारेज गरेको थियो । तर, नेपालमा भने जिट्को मार्फत कामदार जाने गरेका थिए ।












