माघ २८ गतेदेखि रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने

काठमाडौं । रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ।
अब कम्पनीले दोस्रो चरणमा २८ हजार ४४० कित्ता सेयर कर्मचारीहरूका लागि र ७१ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन १३ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।












