एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्तो?

१६ माघ २०८२, शुक्रबार ०६:४८

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा खुद नाफामा उछाल आएको छ। कम्पनीको खुद नाफा ४२ लाख रुपैयाँबाट ३४६ प्रतिशतले बढेर १ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको पुुस मसान्तसम्म कम्पनीको आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको वित्तीय विवरणले देखाएको छ। कम्पनीको खुद ब्याज आम्दानी ३३ करोड ४७ लाख रुपैयाँबाट ६४ प्रतिशतले बढेर ५५ करोड १० लाख रुपैयाँ नाघेको छ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३७ करोड ७४ लाख रुपैयाँबाट बढेर ६१ करोड २३ लाख रुपैयाँ नाघेको छ भने सञ्चालन खर्च ४३ करोड ४ लाख रुपैयाँबाट ४४ करोड ३४ लाख रुपैयाँ नाघेको छ। यसै अवधिमा कम्पनीको सञ्चालन नाफा ५९ लाख रुपैयाँबाट बढेर ३ करोड ५९ लाख रुपैयाँ नाघेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ०.२४ रुपैयाँबाट बढेर १.०८ रुपैयाँ कायम भएको छ भने खराब कर्जा १३.३७ प्रतिशतबाट बढेर १७.३८ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२२.३० रुपैयाँ रहेको छ।

चुक्ता पूँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३९ करोड रुपैयाँ ऋणात्मक छ भने रिजर्भमा ७८ करोड रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले १८ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*