कानुन उल्लंघनको विवरण चारित्रिक प्रमाणपत्रमै उल्लेख हुने, गृह मन्त्रालयको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले अब कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीबाट जारी हुने चारित्रिक प्रमाणपत्रमै अनिवार्य रूपमा उल्लेख गरिने स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार यस्तो विवरण समावेश हुँदा वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा विदेश भ्रमणमा गम्भीर असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई कानुन पालना गर्न सचेत गराइएको हो ।
गृह मन्त्रालयले अपराधसम्बन्धी राष्ट्रिय अभिलेखलाई व्यवस्थित बनाउन अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८१ कार्यान्वयनमा रहेको जनाएको छ । निर्देशिकाअनुसार मौजुदा कानुनी व्यवस्था, विधि र प्रक्रिया विपरीत गरिएका गतिविधिहरू चारित्रिक प्रमाणपत्र जारी गर्दा अनिवार्य रूपमा उल्लेख गरिनेछ ।
मन्त्रालयले जारी गरेको सूचनामा कानुन प्रतिकूल कार्यका कारण भविष्यमा वैदेशिक अध्ययन, रोजगार, आप्रवासन तथा अन्य अवसरहरूमा प्रतिकूल प्रभाव पर्न सक्ने स्पष्ट संकेत गरिएको छ ।
गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेले निर्देशिका विपरीत चारित्रिक प्रमाणपत्र जारी गरेमा, प्रमाणपत्रमा केरमेट वा थपघट गरिएमा त्यसलाई लिखतसम्बन्धी कसूर मानी प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन् ।












