पश्चिमी वायु सक्रिय बन्दै: आउँदो मंगलबार देशका केही भूभागमा वर्षा र हिमपात

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबार (माघ २०) देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। विशेषगरी पश्चिम नेपालका पहाडी तथा हिमाली क्षेत्रमा पानी र हिउँ पर्ने सम्भावना तुलनात्मक रूपमा राम्रो रहेको महाशाखाले जनाएको छ।
शुक्रबार सार्वजनिक गरिएको माघ २२ गतेसम्मको साप्ताहिक मौसम पूर्वानुमानअनुसार पहाडी भूभागमा मंगलबारबाहेक अन्य दिन उल्लेख्य वर्षा हुने सम्भावना छैन। मंगलबार भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने आँकलन गरिएको छ।
महाशाखाका अनुसार आइतबार (माघ १८) देखि मंगलबारसम्म पश्चिम नेपालका उच्च पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम हिउँ वा पानी पर्न सक्ने सम्भावना छ। यही अवधिमा सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका धेरै स्थान तथा वाग्मतीदेखि कोसी प्रदेशका थोरै स्थानमा समेत हिउँ वा वर्षा हुन सक्ने देखिएको छ।
मंगलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाको अनुमान छ। यसबाहेक हप्ताका अन्य दिनहरूमा भने देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना न्यून रहेको बताइएको छ।
महाशाखाका अनुसार यसपटकको हिउँदयाममा पश्चिम नेपालमा यो तेस्रो पटक वर्षा हुन लागेको हो। तराई भूभागमा भने आउँदो हप्ताभरि हुस्सु तथा कुहिरो लागिरहने सम्भावना रहेको छ। साथै, तराई क्षेत्रको तापक्रममा पनि हल्का वृद्धि हुन सक्ने देखिएको छ।












