नारायणी डेभलपमेन्ट बैंकको अवितरित ६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

१८ माघ २०८२, आईतवार ०८:१२

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको संस्थापक समूहतर्फको अवितरित ६ लाख ३ हजार १६२ कित्ता शेयर आज माघ १८ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीमा आएको छ।

बैंकले असोज २ देखि कात्तिक ९ गतेसम्म हकप्रद निष्कासन गरी बाँडफाँड गर्दा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता शेयर बाँकी बसेको थियो। सो शेयर मंसिर १८ देखि २५ गतेसम्म लिलामीमा राख्दा पनि २ लाख ९६ हजार ६५६ कित्ता मात्रै बिक्री भई ३ लाख ६ हजार ५९७ कित्ता बाँकी रहेपछि अहिले पुनः लिलामीमा राखेको हो।

शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने बैंकले जानकारी दिएको छ। इच्छुक जोकोहीले आफूले किन्न चाहेको शेयर र सोको मूल्य समेत खुलाएर फागुन ४ गतेभित्र बोलपत्र पेश गर्नु पर्नेछ।

बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै ग्लोबल आइएमई बैंकको विराटनगर, आदर्शनगर, वीरगंज, हेटौंडा, नारायणगढ, न्यूरोड (पोखरा) र बुटवल (मिलनचोक) शाखा कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*