एनआईसी एसिया बैंकमा कर्पोरेट खाता खोल्दै हुनुहुन्छ ? छैन कुनै सुविधा

१८ माघ २०८२, आईतवार १२:३९

काठमाडौं । तपाई कुनै व्यवसायी हुनुहुन्छ र एनआईसी एसिया बैंकमा कर्पोरेट खाता खोल्दै हुनुहुन्छ भने अब सचेत हुनुहोला । किनभने बैंकले कर्पोरेट खाता सञ्चालन गरेबापत संस्थाका कर्मचारीहरुलाई क्रेडिट कार्ड, अटोलोन सुविधा जस्ता कुनै पनि सुविधा प्रदान गर्न नसक्ने अवस्थाबाट गुज्रिरहेको छ ।

एनआईसी एसिया बैंकले पछिल्लो तीन वर्षदेखि क्रेडिट कार्ड बन्द गरेको अवस्था छ । त्यस्तै, अटो लोन पनि बन्द गरेको अवस्था छ । जथाभावी ऋण प्रवाह गरेर अप्ठेरो वित्तीय अवस्थाको सामना गरिरहेको एनआईसी एसिया बैंकमा निक्षेप राखेर झिक्ने काममा मात्रै प्रयोग हुँदै आएको छ । पछिल्लो समय आर्थिक अभावका कारण खर्च कटौति गर्दै आएको छ । ग्राहकले यतिसम्म सुविधा पाउने छैनन् कि स्टेटमेन्ट समेत सादा कागजमा प्रिन्ट गरेर छाप लगाउने गरिएको छ ।

एनआईसी एसिया बैंकबाट कर्मचारीहरुलाई कुनै पनि सुविधा नपाउने भएपछि उक्त बैंकमा खाता खोलेर कारोबार गर्दै आएका कतिपय संस्था तथा कम्पनीहरु अहिले पछुतो मानिरहेका छन् । एक पीडित व्यापारीले बीमापोष्टसँग भने, ‘क्रेडिट कार्ड सुविधा छैन, अटोलोन लिन अन्यत्र बैंकमा जानुपर्दछ । स्टेटमेन्ट माग्न गयो सादा कागजमा प्रिन्ट गरेर दिन्छ, त्यस्तो बैंकमा खाता नखोल्दा नै राम्रो हुन्छ ।’

पछिल्लो समय बैंक नै डुब्ने अवस्थामा पुगेपछि बैंकका सिईओ रोशन न्यौपाने केही महिना अघि राजिनामा गरेर भागि सकेका छन् भने अध्यक्ष तुलसीराम अग्रवालले पनि राजिनामा दिएर नयाँ अध्यक्ष भएको अवस्था छ । बैंकलाई पुनसंरचना गर्न भनेर आएका सिईओ बन्न आएका सुजित कुमार शाक्यले पनि बैंकलाई सुधारको मार्गमा लैजानु भन्दा पनि गुटबन्दी गरेर कर्मचारी चलाउन थालेपछि कर्मचारीभित्र असन्तुष्ट बढ्दो छ ।

एनआईसी एसिया बैंकका सहायक सिईओ तथा सूचना अधिकारी जयन्द्र रावलले बन्द भएको क्रेडिट कार्ड सेवा भर्खरै सुरु भएको जानकारी दिए । तर, बैंकले केही सीमित व्यक्तिलाई क्रेडिट कार्ड दिए पनि आम व्यक्तिहरुलाई बन्द नै भएको बैंक स्रोतले जनाएको छ । सूचना अधिकारी रावलले चालु आवको छ महिनामा कति क्रेडिट कार्ड वितरण भएको छ भन्ने जानकारी दिन सकेनन् र भने ‘आधा घण्टापछि फोन गर्छु ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*