बैंकहरूको खराब कर्जा ०.५९% बढ्योः आठ बैंकले घटाए, चार बैंकको ७ प्रतिशत माथि

काठमाडौं । चालू आर्थिक वर्षको पुस दोस्रो त्रैमासिक वित्तीय विवरण २० वटै वाणिज्य बैंकहरूले सार्वजनिक गरिसकेका छन्। तिनै बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आठवटा बैंकहरूले खराब कर्जा (एनपीएल) घटाउन सफल भएका हुन्। त्यसो त गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको पुस मसान्तसम्म बैंकहरूको समग्रमा खराब कर्जा औसत ०.५९ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। गत आवको पुस मसान्तसम्म बैंकहरूको औसत खराब कर्जा ४.४९ प्रतिशत थियो भने चालू आवको पुस मसान्तसम्म बढेर ५.०८ प्रतिशत पुगेको छ।
कुन बैंकको एनपीएल कति?
तथ्यांकमा ४ बैंकहरूको खराब कर्जा ७ प्रतिशतभन्दा माथि देखिएको छ। जसमध्ये सबैभन्दा धेरै हिमालयन बैंकको ७.९६ प्रतिशत, प्रभु बैंकको ७.४९ प्रतिशत, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) को ७.९० प्रतिशत र एनआईसी एशिया बैंकको ७.४७ प्रतिशत एनपीएल रहेको छ।
त्यसपछि कुमारी बैंकको ६.९२ प्रतिशत, सिटिजन्स बैंकको ६.८६ प्रतिशत, प्राइम कमर्सियल बैंकको ६.३८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.५० प्रतिशत, नेपाल बैंकको ५.३४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.९१ प्रतिशत, कृषि विकास बैंकको ४.६५ प्रतिशत र एनएमबि बैंकको ४.५६ प्रतिशत खराब कर्जा रहेको छ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको ४.३६ प्रतिशत, नबिल बैंक र माछापुच्छ्रे बैंकको समान ४.२५ प्रतिशत, सानिमा बैंकको ३.६३ प्रतिशत, सिद्धार्थ बैंकको ३.४५ प्रतिशत, नेपाल एसबिआई बैंकको २.६४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.८८ प्रतिशत र सबैभन्दा कम एभरेष्ट बैंकको ०.६८ प्रतिशत खराब कर्जा रहेको छ।
आठ बैंकले खराब कर्जा घटाउँदा १२ बैंकको बढ्यो
गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा आठवटा बैंकहरूले आफ्नो खराब कर्जा घटाउन सफल भएका छन्। जसमध्ये सिद्धार्थ बैंकको १.०५ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.९१ प्रतिशत, नबिल बैंकको ०.६८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ०.६० प्रतिशत, माछापुच्छ्रेको ०.२९ प्रतिशत, कृषि विकासको ०.२५ प्रतिशत, लक्ष्मी सनराइजको ०.१७ प्रतिशत र कुमारीको ०.०४ प्रतिशतले खराब कर्जा घटेको छ।

यता एभरेष्ट बैंकको ०.०२ प्रतिशत, ग्लोबल आइएमईको ०.०५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको ०.१७ प्रतिशत, नेपाल बैंकको ०.३५ प्रतिशत, सानिमाको ०.४१ प्रतिशत, एनएमबिको ०.६० प्रतिशत, प्राइम कमर्सियलको १.४२ प्रतिशत, सिटिजन्सको २.०१ प्रतिशत, एनआईएमबिको २.०४ प्रतिशत, एनआईसी एशियाको २.८६ प्रतिशत, प्रभु बैंकको २.८८ प्रतिशत र हिमालयन बैंकको सबैभन्दा धेरै २.९८ प्रतिशतले खराब कर्जा वृद्धि भएको छ।












