२ लाख घुससहित पक्राउ परेका मालपोत कर्मचारी दोषी ठहर
१८ माघ २०८२, आईतवार १८:०६

काठमाडौँ । मालपोत कार्यालय, धुलिखेलका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी भ्रष्टाचारको मामलामा दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार सार्वजनिक गरेको फैसला अनुसार उनी दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा सजाय भोग्ने भएका हुन् ।
असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एन्फा)ले उनलाई सेवाग्राहीसँग दुई लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको थियो। काभ्रेपलाञ्चोकको साबिक दोलालघाट–७ स्थित फिल्डबुकमा दर्ता छुटेका जग्गा मालिकको नाममा छुट दर्ता गर्न खरिदार भण्डारीले घुस माग गरेको खुलेको थियो।
विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा उनलाई दोषी ठहर गर्दै दुई लाख रुपैयाँ बिगोसहित जेल सजाय र जरिवाना तोकेको छ। अदालतले प्रतिवादीको विरुद्ध माग गरिएको सजाय नै लागु हुने फैसला सुनाएको छ।












