पाथीभरामा केबुलकार निर्माण रोक्न सडकबाट गर्जिँदै स्थानीय, ‘नरोकिए पुस्तौँ पुस्तासम्म आन्दोलन हुन्छ’

काठमाडौँ। सभ्यता, संस्कृति र धार्मिक पहिचानसँग जोडिएको मुक्कुम्लुङ अर्थात् पाथीभरामा निर्माणधीन केवलकारविरुद्ध स्थानियहरु लगातार सडकमा उत्रिएका छन्। माघ १६ गतेदेखि सुरु भएको आन्दोलन आज माघ १८ गतेसम्म निरन्तर जारी छ। स्थानियहरुले विभिन्न सभा, सम्मेलन र कोण सभाको आयोजना गर्दै ‘नो केवलकार’ भन्दै विरोध प्रदर्शन गरिरहेका छन्।
केवलकार निर्माण तत्काल रोकिनु पर्ने भन्दै सयौ स्थानिय सडकमा उत्रिएका हुन् । सरकारले निजी स्वार्थ समूहसँग मिलेर स्थानीय समुदायको समन्वय, सहमति वा सहभागिता नलिएर निजी कम्पनीसँग मिलेर केवलकार निर्माणको योजना अघि बढाउनु निकै अन्यायपूर्ण कदम हुने स्थानियहरुको भनाइरहेको छ । केवलकार निर्माण नरोकिएसम्म आन्दोलन जारी स्थानियहरुको चेतावनी छ । उक्त केवलकार नरोकिएसम्म पुस्तौ पुस्तसम्म आन्दोलन गर्ने स्थानिय तयार बताइरहेका हुन् ।
आज माघ १८ गते खिबेखिङ्मा आयोजित कोण सभामा सयौं स्थानिय सहभागी थिए। सभा स्थलमा वृद्ध, युवा, महिला र बालबालिकासहित समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानियहरुले सरकार र निजी कम्पनीद्वारा धार्मिक क्षेत्रलाई व्यावसायिकरण गर्ने प्रयासको विरोध गर्दै आएका छन्।
मुक्कुम्लुङ क्षेत्र धर्म, संस्कृति र पहिचानसँग जोडिएको महत्वपूर्ण स्थल हो। यस क्षेत्रको धार्मिक सम्पदा, मठ, गुम्बा र प्राकृतिक वातावरणलाई केवलकारले प्रत्यक्ष असर पार्ने भएकाले यसलाई विकास नभई विनाशका रुपमा लिइएको छ। उनीहरुको भनाइ अनुसार जल माफिया, भुमाफिया र हालको ‘देउ माफियाको शासन’ मार्फत निजी क्षेत्रको लगानीले केवलकार निर्माण गर्न खोजेको छ।
केवलकार निर्माणमा व्यापक भ्रष्टाचार भएको स्थानियहरुको दाबी छ । निर्माणका लागि प्रयोग गरिएको जग्गा कृते, अवैध वा विवादित रहेको उनीहरुको भनाई छ । यसैगरी केवलकार निर्माणको नाममा राज्यले करदाताबाट उठाएको रकमले तिरेका सुरक्षाकर्मीलाई खटाउनु, धार्मिक स्थलमा व्यापारिक समूहको प्रभुत्व स्थापित गर्नु भ्रष्टाचारको स्पष्ट उदाहरण रहेको स्थानिय अगुवाहरुको तर्क छ ।
स्थानीयहरु हाक्पारे थानदेखि मुक्कुम्लुङ माङ थानसम्म आन्दोलन जारी राख्ने तयारीमा छन्। उनीहरुले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै आइसकेका छन्। विरोधका क्रममा आयोजित सभा, कोण सभा, सडक प्रदर्शन र स्थानीय संचार माध्यममार्फत जनसन्देश फैलाउने योजना बनाइएको छ।
सरकारले नागरिकलाई दबाएर केवलकार निर्माण अघि बढायो भने आन्दोलन अझ उग्र र व्यापक हुने सम्भावना छ। खिबेखिङ्मा आयोजित कोण सभामा सहभागी एक स्थानियले भने, ‘हामी हाम्रो पहिचान र धार्मिक स्थलको संरक्षणका लागि सडकमा आएका हौं। केवलकार निर्माण रोक्न सरकारलाई बाध्य पार्नेछौं।’
स्थानिय आन्दोलनमा विभिन्न आयुका मानिसहरुको सहभागिता देखिएको छ। युवा समूहले सामाजिक सञ्जालमार्फत अभियान चलाउँदै स्थानीयको आवाजलाई व्यापक बनाएका छन्। महिला र वृद्धको सहभागिता यस आन्दोलनको गम्भीरता र समुदायको साझा चिन्तालाई देखाउने मुख्य पक्ष बनेको छ। बालबालिकाहरु समेत र्यालीमा सहभागी भएर ‘नो केवलकार’ भन्दै नाराबाजी गरेका थिए।
निजी कम्पनीसँग मिलेर धार्मिक क्षेत्रमा व्यावसायिक हस्तक्षेप गर्नु ठुलो अन्याय रहेको आन्दोलन उत्रिएका स्थानियको भनाई छ । उनीहरुले सरकारले स्थानियको आवाजलाई बेवास्ता गरेर केवलकार निर्माण अघि बढायो भने त्यसको परिणाम निकै गम्भीर हुनेछन्।












