साना किसान विकास लघुवित्तको नाफा २६.४२ प्रतिशत घट्यो, अधिकांश सूचकमा गिरावट

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी र नाफासँगै अधिकांश सूचकमा गिरावट आएको देखिएको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आर्थिक वर्षको पुस मसान्तसम्म २६.४२ प्रतिशतको गिरावट सहित खुद नाफा ३८ करोड ९ लाख रुपैयाँमा सीमित हुन पुगेको वित्तीय विवरणले देखाएको छ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९६ करोड ८१ लाख रुपैयाँबाट ३२.४१ प्रतिशतले घटेर ६५ करोड ४३ लाख रुपैयाँमा झरेको छ भने कुल सञ्चालन आम्दानी ९७ करोड ४५ लाख रुपैयाँबाट ३२.८४ प्रतिशतले घटेर ६५ करोड ४४ लाख रुपैयाँमा झरेको छ। योसँगै सञ्चालन नाफा पनि ७५ करोड २७ लाख रुपैयाँबाट २७.७० प्रतिशतले घटेर ५४ करोड ४२ लाख रुपैयाँमा झरेको छ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा २.२७ प्रतिशतबाट बढेर ४ प्रतिशत पुगेको छ भने प्रतिशेयर आम्दानी २४.०१ रुपैयाँबाट घटेर १५.४६ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २१६.४८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.८७ गुणा रहेको छ।
चुक्ता पूँजी ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ रहेको यस कम्पनीको शेयर प्रिमियम १ करोड ८२ लाख रुपैयाँ, जगेडा कोषमा १ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ र रिजर्भ कोषमा ४ अर्ब २५ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको तथ्यांकले देखाएको छ।












