एक दर्जन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, मुनाफा र ब्याज आम्दानीमा को कति अब्बल ? (तथ्यांकसहित)

काठमाडौं । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त कम्पनीहरु ऋण उठाउन सफल भइरहेको देखिन्छ ।
हाल नेपाल स्टक एक्चसेञ्ज (नेप्से) मा सूचीकृत एक दर्जन लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरीसकेका छन् । समीक्षा अवधिमा विवरण सार्वजनिक गरेका १० वटा लघुवित्तको मुनाफा गत आवको तुलनामा ८.१८ प्रतिशतले बृद्धि भएको छ । जसमा एक वटा लघुवित्तको मुनाफामा सामान्य गिरावट आएको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका १० लघुवित्तहरुले ९० करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा लघुवित्तहरुको मुनाफा ८.१८ प्रतिशतले बृद्धि भएको छ । लघुवित्तहरुले गत आवको सोही अवधिमा ८३ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा आधारित
समिक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने कम्पनीमा साना किसान विकास लघुवित्त, स्वरोजगार लघुवित्त, मेरोमाइक्रोफाइनान्स लगायतका संस्थाले सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएका छन् । मुनाफा आर्जनमा पहिलो स्थानमा रहेका साना किसान विकास लघुवित्तले यस अवधिमा ३८ करोड नौै लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको मुनाफामा २६.४२ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले ५१ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
मुनाफा आर्जनमा दोस्रो स्थानमा रहेको स्वरोजगार लघुवित्तले १२ करोड ७४ लाख रुपैयाँ, मेरोमाइक्रोफाइनान्सले नौ करोड ८५ लाख रुपैयाँ, आरएसडिसी लघुवित्तले सात करोड ६६ लाख रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्सले सात करोड चार लाख रुपैयाँ, हिमालयन लघुवित्तले चार करोड ४७ लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सले तीन करोड १७ लाख रुपैयाँ, आत्मनिर्भर लघुवित्तले तीन करोड पाँच लाख रुपैयाँ, गुराँस लघुवित्तले दुई करोड ६६ लाख रुपैयाँ र एनआइसी एशिया लघुवित्तले एक करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
खुद ब्याज आम्दानी
लघुवित्त संस्थाहरुको आम्दानी आर्जनको प्रमुख स्रोत भनेको ब्याज आम्दानी हो । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा सूचीकृत १० लघुवित्त कम्पनीहरुले दुई अर्ब ७५ करोड पाँच लाख रुपैयाँ ब्याज आम्दानी वापत आर्जन गरेका छन् । गत आर्थिक वर्षको तुलनामा लघुवित्तहरुको ब्याज आम्दानी ४.३८ प्रतिशतले बृद्धि भएको छ । सोही लघुवित्तहरुले गत आवको सोही अवधिमा दुई अर्ब ६३ करोड ५० लाख रुपैयाँ ब्याज आम्दानी वापत आर्जन गरेका थिए ।
समीक्षा अवधिसम्मको वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तहरुमध्ये १० वटाको खुद ब्याज आम्दानी बृद्धि भएको छ भने तीन वटाको सामान्य घट्न पुगेको छ । यस अवधिमा साना किसान विकास लघुवित्तको खुद ब्याज आम्दानी सबैभन्दा बढी रहेको छ । कम्पनीको ब्याज आम्दानी ६५ करोड ४३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, एनआइसी एशिया लघुवित्तको ब्याज आम्दानी ५५ करोड १० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा आधारित
साथै, यस अवधिमा मेरो माइक्रोफाइनान्स लघुवित्तको ब्याज आम्दानी ५४ करोड ४५ लाख रुपैयाँ, स्वरोजगार लघुवित्तको ३४ करोड ८९ लाख रुपैयाँ, हिमालयन लघुवित्तको १९ करोड ७७ लाख रुपैयाँ, आरएसडिसी लघुवित्तको १० करोड ७६ लाख रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्सको नौ करोड ७४ लाख रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको आठ करोड ९४ लाख रुपैयाँ र गुराँस लघुवित्तको आठ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ ।












