फागुन २१ को निर्वाचन लोकतन्त्रको परीक्षा : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ मा हुने निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा भएको बताएका छन् । उनले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।
महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र सुरक्षित रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका निर्णायक हुने उल्लेख गरे । ‘आगामी निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण परीक्षा हो, निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउनुहोस्’ उनले भने ।
कुनै पनि तत्वले प्रहरीको निष्पक्षतालाई प्रभावित पार्न नहुनेमा जोड दिँदै उनले दीक्षित प्रहरी निरीक्षकहरूलाई सेवाग्राहीको भरोसा जोगाउन आग्रह गरे । ‘प्रहरीप्रतिको जनविश्वास टुट्न नदिनुहोस्’ उनले भने ।
गृह मन्त्रालयले प्रहरीलाई नियन्त्रण गर्ने होइन, सक्षम बनाउने उद्देश्य लिएको स्पष्ट पार्दै मन्त्री अर्यालले आफ्नो नेतृत्वको मन्त्रालयले दबाब होइन, स्पष्ट दिशा निर्देशन दिने नीति अवलम्बन गरेको बताए ।
उनले गृह प्रशासन र सुरक्षा निकायमा शून्य सहनशीलताको नीति लागू गरिने पनि जानकारी दिए । ‘प्रहरीको पोशाक अधिकारको प्रतीक होइन, त्याग र जिम्मेवारीको प्रतीक हो’ उनले भने, ‘जोसको रापमा परिपक्वताको ताप देखिनुपर्छ ।’












