डिलरदेखि उपभोक्तासम्म ग्यासको हाहाकार, विभागले दियो आयल निगमलाई निर्देशन

काठमाडौँ । पछिल्लो करिब दुई सातायता काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको आपूर्ति असहज बन्दै गएको छ । मागअनुसार ग्यास नपाउँदा उपभोक्ताले डिलर धाउनुपर्ने अवस्था सिर्जना भएको छ भने कतिपय स्थानमा सिलिन्डर अभाव नै देखिन थालेको छ ।
यसै सन्दर्भमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमलाई बजारमा तत्कालै उपभोक्ताले अनुभूति गर्ने गरी ग्यास आपूर्ति सहज बनाउन निर्देशन दिएको छ । सोमबार विभागमा भएको छलफलमा विभागका महानिर्देशक रोशन ज्ञवालीले उपलब्ध सबै संयन्त्र परिचालन गर्दै ग्यास आपूर्ति व्यवस्थापन गर्न निगमलाई स्पष्ट निर्देशन दिएका हुन् ।
छलफलमा आयल निगमको एलपिजी तथा एभिएसन विभागका प्रबन्धक दुर्गा पछाईले भारतबाट कोटाअनुसार नै ग्यास प्राप्त भइरहेको जानकारी दिएकी थिइन् । तर, ग्यास उद्योगीहरूले तोकिएको परिमाणअनुसार पीडीओ (पेमेन्ट डेलिभरी अर्डर) उठाउन नसक्दा आपूर्ति व्यवस्थामा समस्या देखिएको उनको भनाइ थियो ।
निगमका अनुसार हरेक वर्ष जाडो मौसममा भारतस्थित बरौनी रिफाइनरीमा नियमित मर्मत तथा सरसफाइ हुने भएकाले सो अवधिमा तुलनात्मक रूपमा कम पीडीओ जारी हुने गर्छ । यस वर्ष पनि सोही कारण केही समय ग्यास आपूर्तिमा दबाब परेको निगमको भनाइ छ । यद्यपि, हाल बरौनी रिफाइनरीको मर्मत कार्य सम्पन्न भइसकेको र मागअनुसार पीडीओ जारी हुन थालेकाले चाँडै समस्या समाधान हुने आश्वासन निगमले दिएको छ ।
छलफलमा केही ग्यास उद्योगीहरूले कोटाअनुसार ग्यास आयात नगर्दा बजारमा कृत्रिम अभाव सिर्जना भएको विषय पनि उठेको थियो । त्यसपछि महानिर्देशक ज्ञवालीले तोकिएको कोटा अनुसार ग्यास नल्याई नियमित आपूर्ति गर्न नसक्ने उद्योगीलाई कडा निगरानीमा राख्न निर्देशन दिए । आवश्यक परे कारबाही प्रक्रिया अघि बढाउन समेत विभाग तयार रहनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, आपूर्ति शाखा निर्देशक नरहरि तिवारीले ग्यास आयातदेखि वितरण र डिलरस्तरमा रहेको मौज्दातको विवरण निगमले आफ्नै संयन्त्रमार्फत नियमित रूपमा अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याए । आपूर्ति शृङ्खलाको कुनै एक तहमा कमजोरी हुँदा त्यसको प्रत्यक्ष मार उपभोक्ताले भोग्नुपरेको उनको भनाइ थियो ।
उता, ग्यास विक्रेता महासंघका पूर्वअध्यक्ष चन्द्र थापाले उद्योगबाटै मागअनुसार ग्यास नपाउँदा डिलरहरू उपभोक्तालाई सहज रूपमा वितरण गर्न नसकिरहेको बताए । आयल निगम र ग्यास उद्योगीबीच समन्वय नहुँदा समस्या बल्झिएको उल्लेख गर्दै उनले तत्काल संयुक्त पहलमार्फत आपूर्ति सहज बनाउनुपर्ने आवश्यकता औंल्याए ।












