सिनर्जी पावरको साधारण सभामा पुनः हंगामा, बाउन्सर र प्रहरी परिचालन गरेर लगानीकर्तालाई प्रवेश रोक

१९ माघ २०८२, सोमबार १४:४८

काठमाडौँ । दुई पटक स्थगित भइसकेको सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारण सभा आज पनि विवाद र तनाव भएको छ । आम लगानीकर्तालाई सभामा सहभागी हुन नदिइएको भन्दै लगानीकर्ताले कडा विरोध जनाएपछि साधारण सभा स्थल बाहिर तनावको स्थिति सिर्जना भएको हो ।

कम्पनीले आज बिहान १० बजेदेखि काठमाडौँको बौद्धस्थित बौद्ध हेरिटेजमा साधारण सभा आयोजना गरेको थियो । तर सभामा सहभागी हुन पुगेका सर्वसाधारण लगानीकर्तालाई निजी बाउन्सर, सुरक्षा गार्ड तथा प्रहरी परिचालन गरेर प्रवेश निषेध गरिएको थियो । लगानीकर्तालाई जबरजस्ती बाहिर राखेर सीमित व्यक्तिको उपस्थितिमा साधारण सभा सञ्चालन गरिएपछि कम्पनीको नियत र आचरणमाथि गम्भीर प्रश्न उठेको छ ।

लगानीकर्ताले कम्पनीले सार्वजनिक संस्था हुँदाहुँदै पनि निजी कम्पनीझैँ मनपरी व्यवहार देखाएको आरोप लगाएका छन् । ‘आम लगानीकर्ताको आवाज दबाएर साधारण सभा गर्नु लोकतान्त्रिक अभ्यास होइन’ एक लगानीकर्ताले बताए । उनका अनुसार कम्पनीमा भइरहेका लापरबाही, सुशासनको अभाव र व्यवस्थापनसम्बन्धी प्रश्न उठाउने लगानीकर्तालाई लक्षित गरेरै प्रवेश रोकिएको हो ।

यसअघि पनि कम्पनीको साधारण सभा गत पुस २८ गते र माघ ८ गतेका लागि डाकिएको थियो । तर प्रोक्सी प्रमाणिकरण, शेयर रजिष्ट्रार तथा निर्वाचन अधिकृतले प्रमाणित गरेको प्रोक्सी नमान्ने जस्ता विषयमा विवाद बढेपछि दुवै पटक सभा स्थगित भएको थियो । आज भने ती विवाद समाधान नगरी उल्टै लगानीकर्तामाथि दमन गरिएको आरोप लगानीकर्ताले लगाएका छन् ।

लगानीकर्ताका अनुसार नेप्सेमा सूचीकृत कुनै पनि कम्पनीले आम शेयरधनीलाई सभामा सहभागी हुनबाट रोक्नु गम्भीर विषय हो । ‘हामी मालिक हौँ, तर आज हामीलाई आफ्नै कम्पनीको ढोका बन्द गरिएको छ’ अर्का एक लगानीकर्ताले आक्रोश व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*