पुँजी बजार झिनो अकंले बढ्योः कारोबार भने खुम्चियो, किन डराइरहेका छन् लगानीकर्ता ?

१९ माघ २०८२, सोमबार १५:०६

काठमाडौँ । पुँजी बजार आज पनि सामान्य अकंले बढेको छ । लगातार दुई दिन गिरावट आएको बजारमा आज भने झिनो सुधार देखिएको हो । अघिल्लो साताको सुरुवातमा सुधार देखिएपछि उत्साहित बनेका लगानीकर्ताको मनोबल पुनः कमजोर बन्दै गएको छ ।

कारोबार रकम खुम्चिँदै जानुले लगानीकर्ताको सहभागिता कमजोर भएको स्पष्ट देखिन्छ । बजारमा नयाँ लगानी भित्रिनुको सट्टा ‘पर्ख र हेर’को अवस्था हाबी बन्दै गएको छ । सूचक सामान्य अंकले घट्दा पनि कारोबार रकम उल्लेखनीय रूपमा नबढ्नुले बजारप्रति लगानीकर्ताको भरोसा अझै बलियो बन्न नसकेको देखाउँछ ।

यसैबीच बैंक तथा वित्तीय संस्थाहरूले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । सार्वजनिक विवरणमा केही संस्थाको वित्तीय अवस्था अपेक्षाकृत कमजोर देखिएपछि लगानीकर्ता थप सचेत बनेका छन् । नाफा, कर्जा विस्तार र सम्पत्ति गुणस्तरसम्बन्धी सूचक कमजोर देखिनुले बजारमा डरको वातावरण सिर्जना भएको विश्लेषकहरूको भनाइ छ ।

देशमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा केही समय राजनीतिक गतिविधिसँगै पुँजी बजारमा नयाँ उत्साह देखिएको थियो । तर, सुधार देखिनासाथ नाफा बुक गर्ने प्रवृत्ति बढ्दा बजार टिकाउ हुन सकेन । निर्वाचनपछि बन्ने सरकार, भावी अर्थमन्त्री र सरकारले अवलम्बन गर्ने आर्थिक तथा पुँजी बजारसम्बन्धी नीतिप्रति अझै स्पष्टता नआएकाले लगानीकर्ता अनिश्चित बनेका छन् ।

यद्यपि, आधारभूत रूपमा पुँजी बजारका लागि नीतिगत वातावरण भने क्रमशः सकारात्मक बन्दै गएको देखिन्छ । राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयले पछिल्लो समय पूँजी बजारप्रति अपेक्षाकृत उदार नीति लिँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दो क्रममा रहनुले दीर्घकालीन लगानीका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यी आधारभूत कारणका आधारमा निकट भविष्यमा बजारले स्थायित्व लिँदै सुधारतर्फ अघि बढ्न सक्ने चर्चा बजारमा व्यापक रूपमा चलिरहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५३ अकंले बढेर २६९५.७३ बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । वाणिज्य बैंक समूहको ०.०९ प्रतिशत,फाइनान्स समूहको ०.८९ प्रतिशत, हाइड्रोपावर समूहको ०.१३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*