६ महिनामा नेपालको अर्थतन्त्र: रेमिट्यान्स, विदेशी लगानी र निर्यातले देखायो मजबुत स्थिति

१९ माघ २०८२, सोमबार १८:२९

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको अर्थतन्त्रले सुधार र स्थिरताको संकेत देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म रेमिट्यान्स, चालु खाता, विदेशी विनिमय सञ्चिति, निर्यात–आयात, प्रत्यक्ष वैदेशिक लगानी, र मुद्रास्फीति लगायतका सूचकांकहरूले अर्थतन्त्रमा सकारात्मकता पुष्टि गरेका छन्।

विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा रेमिट्यान्स ४.२ प्रतिशतले बढेको थियो। पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब २ अर्ब ६२ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब २२ अर्ब ४४ करोडभन्दा केही कम हो।

अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड डलर पुगेको छ। खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ, जुन अघिल्लो वर्षको ८ खर्ब ३३ अर्ब ८६ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २,०६,८०७ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १,९४,७३३ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी संख्या क्रमशः २,३०,४३९ र १,६२,६२८ थियो।

चालु खाता र शोधनान्तर स्थिति सुधार
समीक्षा अवधिमा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडको बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा चालु खाता ३ अर्ब ३ करोडको बचतमा पुगेको छ, अघिल्लो वर्षको १ अर्ब २३ करोडको तुलनामा।

खुद पुँजीगत ट्रान्सफर १० अर्ब ७६ करोड रहेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब २९ करोडभन्दा उच्च हो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब १७ करोड पुगेको छ, अघिल्लो वर्षको ६ अर्ब ४८ करोडको तुलनामा वृद्धि भएको देखिन्छ।

शोधनान्तर स्थिति ५ खर्ब ०१ अर्ब २४ करोडको बचतमा रहेको छ, अघिल्लो वर्षको २ खर्ब ४९ अर्ब २६ करोडको तुलनामा। अमेरिकी डलरमा शोधनान्तर स्थिति ३ अर्ब ५४ करोडमा पुगेको छ, अघिल्लो वर्षको १ अर्ब ८५ करोडको तुलनामा।

विदेशी विनिमय सञ्चितिमा वृद्धि
आर्थिक वर्षको असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई पुस मसान्तमा ३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ। अमेरिकी डलरमा सञ्चिति १९.५० अर्बबाट २२.४७ अर्ब डलरमा वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोडबाट १९.४ प्रतिशतले वृद्धि भई २८ खर्ब ८४ अर्ब ८ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोडबाट ३६.२ प्रतिशतले वृद्धि भई ३५८ अर्ब ३७ करोडमा पुगेको छ। पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ। कुल विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत रहेका छन्।

निर्यात–आयातमा वृद्धि र व्यापार घाटा
कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्य अनुसार भारततर्फ निर्यात ५७ प्रतिशतले वृद्धि भए पनि चीनतर्फको निर्यात ६६.७ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलामा कमी आएको छ।

कुल वस्तु आयात १४.२ प्रतिशतले वृद्धि भई ९३९ अर्ब २ करोड पुगेको छ। भारत, चीन र अन्य मुलुकबाट क्रमशः ५.९, २२.१ र ३२.४ प्रतिशतले आयात बढेको छ। भटमासको कच्चा तेल, रासायनिक मल, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, चाँदी, सुनको आयात बढेको छ भने हाट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, दाल, तेलहनको आयात घटेको छ।

कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ९७ अर्ब पुगेको छ। निर्यात–आयात अनुपात १५.१ प्रतिशत पुगेको छ, अघिल्लो वर्षको १२ प्रतिशतको तुलनामा।

मुद्रास्फीति र उपभोक्ता मूल्य सूचकांक
पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ, अघिल्लो वर्षको सोही महिनामा ५.४१ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८२/८३ को छ महिनाको औसत मुद्रास्फीति १.७० प्रतिशत रहेको छ, अघिल्लो वर्षको औसत मुद्रास्फीति ४.९७ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहमा फलफूल ५.२० प्रतिशत, घ्यू–तेल ४.९६ प्रतिशत, दाल–गेडागुडी ५.५२ प्रतिशतले वृद्धि भएको छ। गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा २१.७५ प्रतिशत, शिक्षा ७.५६ प्रतिशत, कपडा–जुत्ता ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थ ३.८५ प्रतिशतले वृद्धि भएको छ। बीमा तथा वित्तीय सेवा उप–समूहमा ०.०३ प्रतिशतले घटेको छ।

नेपालको अर्थतन्त्रमा पहिलो छ महिनामा रेमिट्यान्स, निर्यात, प्रत्यक्ष विदेशी लगानी र विदेशी विनिमय सञ्चितिमा सुधार देखिएको छ।

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Month-data-of-2082.83

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*