ग्यासका लागि कार्यालय धाउने बाध्यता, नेपाल ग्यासको आपूर्ति संकट

काठमाडौँ । पछिल्ला दुई सातादेखि उपत्यकासहित विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास सहज रूपमा उपलब्ध हुन सकेको छैन । बजारमा विशेषगरी नेपाल ग्यास ब्रान्डको आपूर्ति अत्यन्तै न्यून हुँदा उपभोक्ताहरू समस्यामा परेका छन् ।
भारतबाट अपेक्षित समयमा ग्यास ढुवानी नभएपछि बजारमा चाप बढेको बताइएको छ । ग्यास नपाएपछि उपभोक्ताहरू खाली सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको कार्यालयसम्म पुग्न थालेका छन् । तर कार्यालयमै पुगे पनि ग्यास नपाएको गुनासो उपभोक्ताले गर्दै आएका छन् ।
उक्त कार्यालयमा बिहानदेखि दिउँसो २ बजेसम्म मात्र ग्यास वितरण हुने गरेको छ । सीमित समय र कम परिमाणमा वितरण हुँदा दैनिक सयौँ उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य छन् । लामो समय प्रतीक्षा गर्दा पनि धेरैजसो उपभोक्ताले खाली हात फर्किनुपरेको अवस्था देखिन्छ ।
उपभोक्ताबाट गुनासो चर्किँदै गए पनि नेपाल ग्यास कम्पनीले ढुवानी प्रक्रियामा आएको अवरोधका कारण समस्या तत्काल समाधान हुन नसकेको जनाएको छ । कम्पनीका अनुसार भारतबाट आउने ग्यास ढुवानीमा निरन्तर समस्या देखिँदा आपूर्ति प्रभावित भएको हो ।












