विश्व बैंकद्वारा साना तथा मझौला उद्यम विकासका लागि ९ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच वृद्धि गर्न र रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवद्र्धन गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ।
वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, यस परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अपेक्षा गरिएको छ। परियोजनाले जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण र महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन सुरु गर्न निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डीसीजीएफ) सुदृढ बनाउने लक्ष्य राखेको छ।
विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले प्रतिक्रिया व्यक्त गर्दै भने, ‘यस परियोजनाले वित्तीय पहुँच सहज बनाएर, कारोबारी अवरोध घटाएर वित्तीय समावेशिता विस्तार गर्नेछ। साथै एमएसएमईलाई क्षेत्रीय तथा विश्वव्यापी मूल्य शृङ्खलामा समेट्न सहयोग पुर्याउनेछ र निजी क्षेत्र नेतृत्वको रोजगारी सिर्जनामा योगदान दिनेछ।’
उनले थपे ‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डीपीसी) शृंखलाअन्तर्गत गरिएका सुधारको निरन्तरता हो।’












