पुँजी बजारमा निराशाः लगानीकर्ता बन्दै त्रसित, किन हुँदैछ मार्केट सुस्त ?

काठमाडौँ। सोमबार झिनो अंकले वृद्धि भएको शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । पछिल्लो केही दिन यता बजार सुस्त देखिएकाले लगानीकर्तामा निराशा बढ्न थालेको छ । कारोबार रकम लगातार घट्दै गएकोले लगानीकर्ताको सहभागिता कमजोर भएको देखिन्छ । बजारमा नयाँ लगानी भित्रिनुको सट्टा ‘पर्ख र हेर’को अवस्था हावी भएको छ । सूचक सामान्य रूपमा घट्दा पनि कारोबार रकम उल्लेखनीय रूपमा नबढ्नुले बजारप्रति लगानीकर्ताको भरोसा अझै बलियो नभएको संकेत दिएको छ ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। केही संस्थाको वित्तीय अवस्था अपेक्षाकृत कमजोर देखिएपछि लगानीकर्तामा सतर्कता बढेको छ। नाफा, कर्जा विस्तार र सम्पत्ति गुणस्तरसम्बन्धी सूचक कमजोर देखिनुले बजारमा डरको वातावरण सिर्जना भएको विश्लेषकहरूले बताएका छन् ।
देशमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही समय पुँजी बजारमा नयाँ उत्साह देखिएको थियो । तर, सुधार देखिएसँगै नाफा बुक गर्ने प्रवृत्ति बढ्दा बजार टिकाउ हुन सकेको छैन। भविष्यको सरकार र अर्थनीतिका बारे स्पष्टता नआएका कारण लगानीकर्ता अनिश्चित बनेका छन्। तथापि, बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दै गएको र पूँजी बजारप्रति उदार नीति अपनाउने प्रयासहरूका कारण निकट भविष्यमा बजार स्थायित्व हासिल गर्दै सुधारतर्फ अघि बढ्न सक्ने आशा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.५८ अकंले घटेर २६८३.१५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.६३ प्रतिशत, विकास बैंक समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको १.०९ प्रतिशतले शेयर मूल्य घटेको छ ।
मंगलबार ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ । ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।













