अर्थमन्त्री खनालद्वारा गोरखामा निर्वाचनको तयारीको स्थलगत अनुगमन

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीको स्थलगत अनुगमन गर्न अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गोरखा जिल्लामा भ्रमण गरेका छन्।
जिल्ला प्रशासन कार्यालय गोरखामा भएको अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र नेपाली सेना प्रमुखसहित तीनै सुरक्षा प्रमुखले निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र निर्वाचन आचारसंहिता पालनाको अवस्था सम्बन्धमा अर्थमन्त्रीलाई जानकारी गराए।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले गोरखा जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनको कुनै उजुरी नपरेको जानकारी दिँदै २३ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट मतपत्र लगायतका सामग्री ढुवानी गर्नु पर्ने अवस्था रहेको बताएका छन्। त्यस्तै, ८३ वटा मतदान केन्द्रलाई अत्यन्त संवेदनशील मतदान केन्द्रको रूपमा वर्गीकरण गरिएको पनि उनले बताए।
अर्थमन्त्रीले स्थलगत अनुगमनको क्रममा जिल्ला निर्वाचन कार्यालयको भ्रमण गर्दै मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतम, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत मोहन वेल्वासे तथा जिल्ला निर्वाचन कार्यालय गोरखाका कार्यालय प्रमुख टेकबहादुर कोइरालाबाट हालसम्मको निर्वाचन तयारी र अवस्था सम्बन्धमा जानकारी लिएका थिए।
अनुगमनको समिक्षा गर्दै अर्थमन्त्री खनालले निर्वाचनको तयारी सन्तोषजनक रहेको र स्थानीयस्तरमा राजनीतिक दलबीच निर्वाचनको क्रममा स्वच्छ र सिर्जनात्मक प्रतिस्पर्धाको वातावरण निर्माण भइरहेको अनुभव भएको जानकारी दिएका छन्।












