फागुन २१ को निर्वाचनका लागि आजदेखि सेना परिचालन

२१ माघ २०८२, बुधबार ०९:१९

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सरकारले एकीकृत सुरक्षा योजना, २०८२ कार्यान्वयनमा ल्याएको छ। यही योजनाअनुसार आजदेखि नै नेपाली सेनाको नेतृत्वमा चारवटै सुरक्षा निकाय देशभर परिचालित भएका छन्।

निर्वाचन आउन अब करिब एक महिना मात्र बाँकी रहेकाले सुरक्षा व्यवस्था थप मजबुत बनाइएको हो। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग आपसी समन्वयमा परिचालन हुनेछन्। निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई पनि तालिमपछि सुरक्षा व्यवस्थामा खटाइनेछ।

सुरक्षा व्यवस्था तीन तहमा सञ्चालन हुनेछ। मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी रहनेछन्। दोस्रो घेराको जिम्मेवारी सशस्त्र प्रहरी बलले सम्हाल्नेछ भने बाहिरी सुरक्षा घेरामा नेपाली सेना परिचालित हुनेछ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेना करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारीमा छ। आवश्यकताअनुसार अस्थायी बेस स्थापना गर्ने र संयुक्त गस्ती सञ्चालन गर्ने व्यवस्था पनि गरिएको छ। सेनाले निर्वाचनअघि मतपत्र छपाइ, ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थलको सुरक्षासम्म जिम्मेवारी सम्हाल्नेछ।

यसैगरी विमानस्थल, कारागारजस्ता संवेदनशील संरचनाको सुरक्षा पनि अन्य सुरक्षा निकायसँगको समन्वयमा सेनाले गर्नेछ। मतदानका दिन सेना तेस्रो घेरामा रही उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षामा समेत केन्द्रित हुनेछ।

आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरिसकेको छ। यसपटक कुल एक करोड ८९ लाखभन्दा बढी मतदाता रहेका छन्। देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। सुरक्षा संवेदनशीलताको आधारमा मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ भने सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*