मानव तस्करसँग नाम जोडिएपछि माइक्रोसफ्ट कम्पनी अप्ठेरोमा

काठमाडौं । विश्वकै ठूला प्रविधि कम्पनीमध्ये एक माइक्रोसफ्ट पछिल्ला हप्तामा लगातार चुनौतीको सामना गरिरहेको छ। सन् २०२४ को शुरुआतमा एप्पललाई पछि पार्दै सबैभन्दा मूल्यवान् कम्पनी बनेको माइक्रोसफ्टको शेयर मूल्य हाल घट्दो क्रममा देखिएको छ।
माइक्रोसफ्टको क्लाउड सेवा ‘आज्यर’को वृद्धिदर अघिल्ला महीनाको तुलनामा सुस्त देखिएको छ। यससँगै आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० पूर्वाधारमा भइरहेको ठूलो लगानीले लागत बढाउँदा नाफामा असर पर्ने संकेत देखिएको छ। गत बिहीबार एकैदिन कम्पनीले ४ अर्ब अमेरिकी डलर गुमाएको छ।
यसैबीच कुख्यात मानव तस्कर तथा यौन अपराधी जेफ्री एप्स्टिनसम्बन्धी कागजातमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सको नाम पटक–पटक उल्लेख भएपछि कम्पनी अप्ठेरो अवस्थामा पुगेको छ। ती फाइलमा भेटघाटका तालिका, इमेलका ड्राफ्ट र अन्य व्यक्तिहरूबीच भएका कुराकानीका सन्दर्भ समावेश छन्।
केही इमेल ड्राफ्टमा गेट्सको व्यक्तिगत जीवनबारे आपत्तिजनक दाबी गरिएको उल्लेख छ। गेट्सका प्रतिनिधिले यस्ता आरोपलाई पूर्ण रूपमा झूटो भन्दै उल्लेख गरेका छन्। गेट्सले यसअघि नै एप्स्टिनसँगको भेटलाई आफ्नो गल्ती भएको स्वीकार गर्दै त्यसप्रति पश्चात्ताप व्यक्त गरेका थिए।
हाल शेयर मूल्य घटे पनि माइक्रोसफ्ट करिब ३१ खर्ब अमेरिकी डलर बजार मूल्यसहित विश्वका ठूला कम्पनीमध्ये चौथो स्थानमा कायम छ। कम्पनीले भने शेयर उतारचढाव र एप्स्टिनसम्बन्धी कागजातबीच कुनै सम्बन्ध रहे नरहेको औपचारिक प्रतिक्रिया दिएको छैन।












