५ अर्ब रुपैयाँको लगानीमा निर्माणाधीन सभाखोला ‘बी’ आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ। सभाखोलाको पानी उपयोग गरी निर्माण भइरहेको २१.५ मेगावाट क्षमताको यस आयोजनाको ४ हजार ११० मिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो।
एक कार्यक्रमकाबीच अर्विट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले सुरुङ छिचोल्ने कार्य सम्पन्न गरेका हुन्। निजी क्षेत्रको पहलमा अघि बढाइएको आयोजनाको इनटेक क्षेत्र सभापोखरी गाउँपालिका–३ मा रहेको छ भने आयोजना सभापोखरी–३, ४ र ५ मा फैलिएको छ।
आयोजना इन्चार्ज कृष्णप्रसाद पन्तका अनुसार जलाशयको मुहानबाट सुरु भई पेनस्टक पाइप जडान हुने स्थानसम्मको सुरुङ सफलतापूर्वक छिचोलिएको हो। अब सुरुङमा कङ्क्रिट लाइनिङको बाँकी काम गरिनेछ। मुख्य सुरुङबाट आएको पानीलाई १ हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ। हालसम्म आयोजनाको करिब ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए।
यस आयोजनाबाट उत्पादन हुने विद्युत् खाँदबारी नगरपालिका–१० स्थित सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ। विसं २०७९ कात्तिक २३ गतेदेखि सुरु भएको आयोजनाको निर्माण आगामी वैशाख २३ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणको करिब ६० प्रतिशत काम सकिएको छ। साथै सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा स्थानीयलाई रोजगारी, शिक्षा र स्वास्थ्य सहयोग, खानेपानी, सडक तथा बेलिब्रिज पुल निर्माण जस्ता कार्यहरू समेत भइरहेको इन्चार्ज पन्तले बताए।
करिब ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको मुख्य निर्माण जिम्मेवारी बैभव पावर नेपाल प्रालिले सम्हालिरहेको छ।












