पुँजी बजार सुस्त हुँदा निराश लगानीकर्ताः कारोबार खुम्चिदै, किन पर्ख र हेरको अवस्था ?

काठमाडौँ। मंगलबार पनि शेयर बजार झिनो अकंले ओरालो लागेको छ। पछिल्ला केही दिन यता बजार सुस्त गतिमा चलिरहेको र कारोबार रकम लगातार घट्दै गएकोले लगानीकर्तामा निराशा बढेको छ । नयाँ लगानी भित्रिनुको सट्टा ‘पर्ख र हेर’को प्रवृत्ति देखिँदा बजारमा सक्रियता कमजोर भएको विश्लेषकहरूले बताएका छन्। सूचक सामान्य रूपमा घट्दा पनि कारोबार रकम उल्लेखनीय रूपमा नबढ्नुले लगानीकर्ताको भरोसा अझै पूर्ण रूपमा स्थापित नभएको संकेत दिएको छ ।
यसैबीच, बैंक तथा वित्तीय संस्थाहरूले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। कतिपय संस्थाको वित्तीय अवस्था अपेक्षाकृत कमजोर देखिँदा लगानीकर्तामा सतर्कता बढेको छ। नाफा, कर्जा विस्तार र सम्पत्ति गुणस्तरका सूचक कमजोर देखिनुले बजारमा डर र अनिश्चितताको वातावरण सिर्जना गरेको विश्लेषकहरूको धारणा छ। यसले शेयर बजारमा अस्थिरता बढाएको र छोटो अवधिमा लगानीकर्ताको विश्वास कमजोर भएको देखाउँछ।
देशमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा केही समयका लागि पुँजी बजारमा उत्साह देखिएको थियो। तर, सुधार देखिने बित्तिकै लगानीकर्ताले नाफा बुक गर्ने प्रवृत्ति बढाउँदा बजार दीर्घकालीन रूपमा टिक्न सकेको छैन। भविष्यको सरकार र अर्थनीतिका बारे स्पष्टता नहुँदा लगानीकर्तामा अनिश्चितता कायम रहँदै आएको छ। यसले बजारमा अल्पकालीन उतार–चढाव र सतर्कता बढाएको देखिन्छ।
तथापि, बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दै गएको र पूँजी बजारप्रति सरकार र नियामक निकायले उदार नीति अपनाउने प्रयास गरिरहेका कारण निकट भविष्यमा बजार स्थायित्व हासिल गर्ने र सुधारतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ। विशेषज्ञहरूले भनेका छन् कि लगानीकर्ताले बजारमा संयमित रणनीति अपनाएमा क्रमिक सुधार सम्भव छ र दीर्घकालीन रूपमा बजार आकर्षक हुनसक्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६४ अकंले घटेर २६८१.५० बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ६ उपसूचक घट्न पुगेको छ । आज वाणिज्य बैंक समूहको ०.३२ प्रतिशत, जीवन बीमा समूहको ०.१३ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.३० प्रतिशतले शेयर मूल्य घटेको छ ।
बुधबार ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।













