हुम्लाको ताँजाकोटमा औषधि खरिद घोटालाः झुट्टा बिलमार्फत लाखौँ हिनामिना गर्ने ४ जना विरुद्ध मुद्धा

२१ माघ २०८२, बुधबार १५:५६

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदमा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार खरिद नै नगरेका औषधि तथा स्वास्थ्य उपकरण खरिद गरेको देखाई झुट्टा तथा नक्कली बिल तयार गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको पाइएको हो।

अख्तियारको अनुसन्धानमा ताँजाकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सह–लेखापाल विर्षसिंह सुनार र आर्यन फार्मा नेपालगञ्जका सञ्चालक कृष्ण कुमार भुजुवाको आपसी मिलेमतो तथा योजनामा अनियमितता गरिएको देखिएको छ। एउटै सामानका लागि फरक–फरक मितिमा माग फाराम र खरिद आदेश तयार गरी विभिन्न फार्माबाट खरिद गरेको देखाउने, औषधि तथा स्वास्थ्य उपकरण खरिद नगरी बढी परिमाणको विवरण थप गरी बिलको रकम अंक तथा अक्षरमा सच्याएर भुक्तानी लिइदिएको अख्तियारको ठहर छ।

अनुसन्धानअनुसार बागेश्वरी सर्जिकलबाट २०७६ फागुन २१ मा जम्मा १ हजार २०० रुपैयाँको सामान खरिद गरिएकोमा ९२ हजार रुपैयाँ बराबरको झुट्टा बिल तयार गरिएको र एलाइड प्याथोक्याम एण्ड सर्जिकलबाट २०७६ पुस २४ मा १ हजार ३५० रुपैयाँको सामान खरिद गरिएकोमा १ लाख १ हजार ३५० रुपैयाँको बिल बनाई भुक्तानी लिइएको पाइएको छ। त्यसैगरी न्यू सेती कर्णाली ढुवानी सेवा, नेपालगञ्ज बाँकेको नाममा १ हजार ५० रुपैयाँको ढुवानी खर्च देखाई झुट्टा बिल पेश गरी भुक्तानी लिइएको अख्तियारले जनाएको छ।

आर्यन फार्माबाट Uticef (Cefixime) औषधिको सट्टा Dressing Drum, ENT Set, Adhesive Tape र Dental Set बिक्री गरेको देखिने झुट्टा तथा नक्कली बिल तयार गरिएको समेत पुष्टि भएको आयोगको भनाइ छ। यसरी औषधि खरिदका लागि पेश्की लिई बिल सच्याउने तथा थपघट गराई जम्मा १ लाख ९१ हजार ८५० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा गैरकानुनी हानि पुर्‍याई प्रतिवादीहरूले लाभ लिएको अख्तियारको निष्कर्ष छ।

आयोगले गोश्वारा भौचर, झुट्टा तथा नक्कली बिल–बिजक, नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको परीक्षण प्रतिवेदनलगायत प्रमाणका आधारमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकाल, स्वास्थ्य शाखा प्रमुख स्याङकु र सह–लेखापाल सुनारविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिम जनही १ लाख ९१ हजार ८५० रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुल उपरको सजाय मागदाबी गरेको छ।

त्यसैगरी आर्यन फार्मा नेपालगञ्जका सञ्चालक कृष्ण कुमार भुजुवालाई मुख्य कसुरदारको मतियारका रूपमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम बिगो १ लाख ९० हजार ८०० रुपैयाँ कायम गरी मुख्य कसुरदार सरह सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*