आशा लघुवित्तको आम्दानीसँगै नाफामा उछाल, समग्र वित्तीय अवस्था कस्तो?

२२ माघ २०८२, बिहीबार ०८:२८

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा कम्पनीको आम्दानीसँगै नाफामा उछाल आएको हो।

कम्पनीले गत आवको पुस मसान्तसम्म २ करोड ३६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ४३१.५५ प्रतिशतको उछाल सहित १२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि आएको कारण नाफा बढ्न टेवा पुगेको वित्तीय विवरणले देखाएको छ। गत आवको पुस मसान्तसम्म कम्पनीले ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा त्यसको तुलनामा झण्डै १४ प्रतिशतको वृद्धि सहित ३८ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि ४० करोड ८५ लाख रुपैयाँबाट १६ प्रतिशतभन्दा बढीले वृद्धि भई करीब ४७ करोड ४४ लाख रुपैयाँ पुगेको छ। यसरी आम्दानीमा वृद्धि आएपछि कम्पनीको सञ्चालन नाफा पनि ३ करोड ३६ लाख रुपैयाँबाट ह्वात्तै बढेर १७ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६.४५ रुपैयाँबाट बढेर ३१.२९ रुपैयाँ कायम भएको छ। निष्क्रिय कर्जा पनि ४.९२ प्रतिशतबाट वृद्धि भई १०.१५ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५८.०८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.२३ गुणा रहेको छ।

चुक्ता पूँजी ८० करोड २६ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १२ करोड १७ लाख रुपैयाँ र रिजर्भ कोषमा ३४ करोड ४४ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल सम्पत्ति ११ अर्ब ७४ करोड २७ लाख रुपैयाँभन्दा माथि रहेको छ। कम्पनीले झण्डै १० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३ अर्ब ५५ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*