६ महिनामै वीरगञ्जबाट ४ अर्ब ५६ करोडका ३२ हजार अनएसेम्बल्ड मोटरसाइकल आयात

२२ माघ २०८२, बिहीबार १०:२९

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै अनएसेम्बल्ड मोटरसाइकलको आयात उल्लेख्य रूपमा बढेको छ। भन्सार तथ्यांकअनुसार यस अवधिमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३३१ वटा अनएसेम्बल्ड मोटरसाइकल भित्रिएका छन्।

ती सवारीसाधनको आयातबाट राज्यले ४ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ३ अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए, जसको तुलनामा चालु आवमा आयात र राजस्व दुवै बढेको देखिन्छ।

त्यस्तै, पूर्ण रूपमा एसेम्बल्ड मोटरसाइकलको आयातमा पनि वृद्धि भएको छ। चालु आवको छ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका ४ हजार ५६७ वटा मोटरसाइकल आयात भएका छन्। गत आवको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ बराबरका २ हजार १९२ वटा मात्र मोटरसाइकल आयात भएका थिए।

विद्युतीय मोटरसाइकलको आयातसमेत उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका ४ हजार ५९४ वटा विद्युतीय मोटरसाइकल भित्रिएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा भने ३० करोड ९६ लाख रुपैयाँ बराबरका २ हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*