निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्री खनालको आग्रह

२२ माघ २०८२, बिहीबार १२:५०

काठमाडौं अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन् । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आएका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिए ।

अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न सबैलाई निर्देशन दिँदै नागरिकले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनेमा विश्वस्त रहन आग्रह गरे । उनले मुख्न निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरेका थिए ।

अनुगमनपछि अर्थमन्त्री खनालले जिल्लास्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको समयमा दिइने सुरक्षा व्यवस्था, प्रहरी परिचालन लगायत विषयमा जानकारी लिएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्लले जानकारी दिए ।

अर्थमन्त्री खनालले निर्वाचनमा स्रोत अभाव नहुने बताए । “निर्वाचन सफल बनाउन् सबैको कर्तव्य हो, सुरक्षा व्यवस्थादेखि आचारसंहिता कार्यान्वयन गर्नु/गराउनु हाम्रो दायित्व हो”, उनले भने, “सरकारले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कमी राख्दैन । केही समस्या भए तुरुन्तै जानकारी भएमा समाधान हुनेछ, यसका लागि आपसी समन्वय र सहकार्य आवश्यक छ । नागरिकले मतदान सहज वातावरणमा गर्नुपर्यो ।”

अर्थमन्त्री खनालले जिल्लाको समग्र सुरक्षाको अवस्था, मतदान केन्द्रको जानकारी र आचारसंहिता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी लिएका थिए । बागलुङकी मुख्य निर्वाचन अधिकारी सीता शर्मा अधिकारीले जिल्लामा भइका शान्ति सुरक्षाको व्यवस्था, आचारसंहिता कार्यान्वयन र अहिलेसम्म भएका निर्वाचन तयारीका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।

आजै बागलुङ आएका अर्थमन्त्री खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीसँग निर्वाचनको तयारी र जिल्लाको वस्तुअवस्थाका विषयमा जानकारी लिएर निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं २ बुर्तिबाङको अनुगमनका लागि गएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*