निरन्तर घट्दै वाणिज्य बैंकहरुको बेस रेट, कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

२२ माघ २०८२, बिहीबार १८:२३

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अहिले तरलता अधिक भए पनि आर्थिक शिथिलताका कारण कर्जाको माग न्यून छ । यसले बैंकहरूलाई निक्षेपको ब्याजदर घटाउन र आधार दर घटाउन प्रेरित गरेको छ । हाल बैंकहरुले कर्जाको प्रकृति अनुसार आधार दरमा १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम लिने गरेका छन् ।

आधार दरलाई ध्यानमा राख्दै सस्तो ब्याजदरमा ऋण लिन चाहने ग्राहकहरूले स्ट्याण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकजस्ता बैंकहरूलाई प्राथमिकता दिन सक्ने देखिएको छ । यद्यपि, ग्राहकहरूले कर्जाको प्रकृति, बैंकको सेवा स्तर र अन्य शुल्कहरू समेत ध्यानमा राखेर निर्णय गर्नुपर्छ ।

माघ महिनाको आधार दरका आधारमा सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋण प्रदान गर्ने देखिन्छ । हाल बैंकको आधार दर ४.२७ प्रतिशत छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ४.४२ प्रतिशत, एभरेष्ट बैंकको ४.७५ प्रतिशत, नबिल बैंकको ५.०४ प्रतिशत, नेपाल बैंकको ५.०६ प्रतिशत, ग्लोबल आईएमई बैंकको ५.१६ प्रतिशत, कृषि विकास बैंकको ५.१९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.२० रहेको छ ।

सर्वाधिक आधार दर हुनेमा एनआईसी एशिया बैंक र प्राइम बैंक अघि रहेको देखिन्छ । यी बैंकहरुको क्रमशः ६.४५ प्रतिशत र ५.८२ प्रतिशत आधार दर रहेको छ । जस कारण ग्राहकले यी बैंकबाट ऋण लिदा बढी ब्याज तिर्नुपर्ने हुन सक्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*