छिमेक लघुवित्तको आम्दानीसँगै बढ्यो नाफा, समग्र वित्तीय अवस्था कस्तो?

२३ माघ २०८२, शुक्रबार १०:३९

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा आम्दानीसँगै नाफा वृद्धि भएको हो।

कम्पनीले गत आवको ६ महीनामा ५१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा साढे १२ प्रतिशतभन्दा बढीको वृद्धि सहित करीब ५७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १ अर्ब ३५ करोड ८७ लाख रुपैयाँबाट ७.४५ प्रतिशतले बढेर करीब १ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ५३ करोड ५० लाख रुपैयाँबाट ७ प्रतिशतले बढेर १ अर्ब ६४ करोड २३ लाख रुपैयाँ नाघेको छ।

यसरी आम्दानीमा वृद्धि भएपछि गत आवको पुस मसान्तसम्म ७२ करोड १७ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा ११.६४ प्रतिशतको वृद्धि सहित ८० करोड ५७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको वित्तीय विवरणले देखाएको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३१.८४ रुपैयाँबाट सामान्य बढेर ३१.८५ रुपैयाँ पुगेको छ भने खराब कर्जा २.७२ प्रतिशतबाट घटेर २.४५ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २३३.६६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.८८ गुणा रहेको छ।

चुक्ता पूँजी ३ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ४० करोड ९६ लाख रुपैयाँ, जगेडामा १ अर्ब ७१ करोड ५६ लाख रुपैयाँ र रिजर्भमा ३ अर्ब ७ करोड ८० लाख रुपैयाँ रहेको छ। कम्पनीले ४१ अर्ब ८५ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४२ अर्ब ८३ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको कुल सम्पत्तिको मूल्य ५५ अर्ब नजिक पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*