कालिका लघुवित्तको नाफा ३८.७७ प्रतिशत वृद्धि, अन्य वित्तीय सूचकको अवस्था कस्तो?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति गरेको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा आम्दानी र नाफामा बढोत्तरी देखिएको हो।
चालू आवको पुस मसान्तसम्म संस्थाले ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन गत आवको सोही अवधिको ४ करोड २१ लाख रुपैयाँको तुलनामा ३८.७७ प्रतिशतले वृद्धि भएको हो। नाफामा भएको वृद्धिसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि २०.६८ रुपैयाँबाट बढेर २६.०९ रुपैयाँ कायम भएको छ।
संस्थाको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानी बढेकाले पनि नाफा बढ्न टेवा पुगेको हो। गत वर्षको पुस मसान्तसम्म १७ करोड ८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष २७.४३ प्रतिशतले वृद्धि भई २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी संस्थाको सञ्चालन मुनाफामा पनि उत्साहजनक सुधार आएको छ। गत वर्ष ६ करोड १ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष ३८.९४ प्रतिशतले बढेर ८ करोड ३५ लाख रुपैयाँ पुगेको छ। संस्थाले ब्याज आम्दानीका साथै अन्य सञ्चालन क्रियाकलापबाट पनि २ करोड ७३ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ।
व्यवसाय विस्तारको पाटोलाई हेर्दा संस्थाले निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि गरेको छ। संस्थाले गत असार मसान्तको तुलनामा आफ्नो निक्षेप संकलन १ अर्ब ६६ करोड २५ लाख रुपैयाँबाट बढाएर १ अर्ब ७९ करोड २१ लाख रुपैयाँ पुर्याएको छ भने कर्जा लगानीमा पनि विस्तार गर्र्दै ४ अर्ब ७५ करोड ४५ लाख रुपैयाँबाट बढाएर ४ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ प्रवाह गरेको छ।
चुक्ता पूँजी ४४ करोड ८४ लाख रुपैयाँ रहेको संस्थाको जगेडामा ४ करोड ६० लाख रुपैयाँ र रिजर्भमा २४ करोड ४१ लाख रुपैयाँ सञ्चित रहेको छ। संस्थाको खराब कर्जा भने ४.६७ प्रतिशतबाट ह्वात्तै बढेर ११.४२ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६४.७० रुपैयाँ रहेको छ।












