पाटन अस्पतालको बीमा भुक्तानीमा ढिलाइ भए महानगर आफैंले तिर्न तयार : मेयर महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरेको अवस्थामा महानगरपालिकाले आफैंले रकम तिर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर महर्जनले बीमा रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै सरकारले छिटो भुक्तानी गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘कथं कदाचित नेपाल सरकारले भुक्तानी नगरेको कारणले स्वास्थ्य केन्द्र बन्द गर्नुपर्ने अवस्था आएमा सबैभन्दा बढी आलोचना र जिम्मेवारी म स्वयंले वहन गर्नेछु।’
महानगर प्रमुखले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले सो दायित्व पूरा गर्ने स्पष्ट पारेका छन्। उनले पाटन अस्पतालकै प्राविधिक सल्लाहअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिएका छन्।
मेयर महर्जनले यस नयाँ केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने र ललितपुर–पाटन सहकार्य मुलुकका अन्य ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यास बन्ने बताए।
उहाँले कार्यक्रममा थपे, ‘यो केन्द्र खोलिसकेपछि हामीले धेरै राम्रो सेवा प्रवाह गर्न सक्नेछौं। ७५३ पालिकामध्ये ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अघि बढाएको यो काम सम्पूर्ण देशका लागि असल अभ्यास हुनेछ। अहिले सुन्नमा आइरहेको छ कि नेपाल सरकारले पैसा तिरेन। पाटन अस्पताललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुस्, उहाँहरुको समस्या समाधान गर्न आवश्यक छ।’












